जनार्जन खत्री
सर्लाही, माघ ८ गते । जिल्ला प्रशासन कार्यालय मलङ्गवा सर्लाहीले राजनीतिक दल तथा दल निकट भातृ सङ्गठनहरुलाई राजनीतिक सभा, सम्मेलनलगायतका कार्यक्रम आयोजना गर्दा कार्यालयबाट अनुमति लिन भनेको छ ।
फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले सूचना जारी गर्दै राजनीतिक सभा, सम्मेलनलगायतका कार्यक्रम आयोजना गर्दा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराई अनुमति लिन अनुरोध गर्नुभएको हो । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रक्रिया चरणवद्ध रुपमा अघि बढिरहेको सन्दर्भमा जिल्लाभित्र शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न यस प्रकारको सूचना जारी गर्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।
यस्तै, सिडिओ कार्यालयले राजनीतिक कार्यक्रममा जाने आउने क्रममा सरकारी सवारी साधन प्रयोग नगर्न/नगराउनसमेत अनुरोध गरेको छ । यसैबिच, मङ्गलबार उम्मेदवारी दर्ता गराएपछि अधिकांश दलहरुले हिजो प्रत्येक क्षेत्रमा भेला तथा बैठक गरेर अब कसरी प्रचारप्रसार सुरु गर्ने भनी छलफल गरेका छन् ।
राजनीतिक दलहरुले उम्मेदवारसहित छलफल राखेर प्रचारप्रसार तथा घरदैलोलाई तीव्र रुपमा अघि बढाउने निर्णय गरेका हुन् । कतिपयले अब बिहीबारदेखि घरदैलो नै सुरु गर्ने तयारी गरेका छन् भने केही राजनीतिक दलले बिहीबार पनि भेला, बैठकहरु आयोजना गरेका छन् । अब डेढ महिनाजति उम्मेदवारहरुलाई घरघरमै पुगेर आफूलाई मत माग्न भ्याइनभ्याइ पर्छ ।