फडिन्द्र अधिकारी
लेखनाथ, माघ ८ गते । दुई दशक अघिसम्म पोखराको चाइनापुल छेउछाउ सेती किनारका धाँजा र गहिरा खोंचमा फोहोर फालिन्थ्यो । मङ्गलबार पोखरा महानगरले त्यही किनार नजिकै खाल्डो खनेर मुख्य बजारको फोहोर गाड्यो । अरु फोहोर सडकमै छ । दैनिक करिब दुई सय टन फोहोर जम्मा हुने पोखरा महानगरमा अहिले ल्यान्डफिल साइट छैन । ल्यान्डफिल नहुँदा एकातिर पर्यटन राजधानी सहर दुर्गन्धित हुन थालेको छ भने अर्कातिर स्थानीय सरकारका लागि टाउको दुखाइ बनेको छ ।
२०६० सालमा पोखरा–१४, बाच्छेबुडुवामा सेनिटरी ल्यान्डफिल साइट बनेपछि पोखराको फोहोर त्यहाँ व्यवस्थापन गरिँदै आएको थियो । तीन वर्ष पहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुअघि त्यो ल्यान्डफिल बन्द गरी वडा नम्बर ३२, लामेआहालमा अस्थायी ल्यान्डफिल खोजियो । छ महिनाका लागि खोजिएको अस्थायी ल्यान्डफिलमा करिब तीन वर्ष फोहोर व्यवस्थापन भयो ।
एक हप्ताअघि त्यो ल्यान्डफिल भरिएपछि सडक र सार्वजनिक स्थलमा फोहोरका डङ्गुर देखिएका छन् । वडा नम्बर ३३ मा फोहोर प्रशोधन केन्द्र बनाउने महानगरको योजनाअघि बढ्न सकेको छैन । मुख्यबजार नै दुर्गन्धित भएपछि महानगरले मङ्गलबार केही क्षेत्रको फोहोर खाल्डो खनेर गाडेको छ ।
महानगरका सरसफाइ शाखा प्रमुख हर्क गायक फोहोरको समाधान खोज्न लागिपरेको बताउनुहुन्छ । “मुख्य बजारमै फोहोरको रास भएपछि केही फोहोर गाड्यौँ,” उहाँ भन्नुहुन्छ, “प्रशोधन केन्द्र बन्नुअघि फोहोर फाल्न अस्थायी ल्यान्डफिल खोजिरहेका छौँ ।” विभिन्न स्थानमा अस्थायी ल्यान्डफिलका विकल्प देखिए पनि स्थानीयसँग सहमति हुन सकेको छैैन ।
महानगर प्रमुख धनराज आचार्य पोखरा–३३ को झाँक्रीखोला, देब्रेवरमा फोहोर प्रशोधन केन्द्र बनाउन सबैले सघाउनुपर्नेमा जोड दिनुहुन्छ । “फोहोर त सबै मान्छेले सँगै लिएर हिडेको हुन्छ, फोहोरको उचित व्यवस्थापन नभएको सभ्य सहर हुनै सक्दैन,” उहाँ भन्नुहुन्छ । देब्रेबरमा फोहोर प्रशोधन केन्द्र निर्माणका लागि महानगर र टेरासोल्भ रिनुएवल प्रालिबीच गएको मङ्सिर २ गते सम्झौता भएको थियो ।
प्रशोधन केन्द्रमा टेरासोल्भले डेढ अर्ब लगानी गर्ने र २१ वर्षपछि चालु अवस्थामै महानगरलाई हस्तान्तरण गर्ने सम्झौता छ । सार्वजनिक निजी साझेदारी(सानिसा) कार्यक्रमअन्तर्गत यहाँ बनाइने केन्द्रमा १७ जनाको ९६ रोपनी जग्गा पर्छ । स्थानीय त्यहाँ फोहोर व्यवस्थापन गर्न नहुने भन्दै आन्दोलित छन् । स्थानीय र राजनीतिक दलसहित सरोकारवालासँग समन्वय गरी समाधान खोजिने प्रमुख आचार्य बताउनुहुन्छ ।
महानगरले ल्यान्डफिल साइट बनाउन उचित सरकारले जमिन नपाएको र विभिन्न ठाउँमा हेरे पनि विरोधले योजनाअघि नबढेको महानगरका सानिसा कार्यक्रम संयोजक नेत्र तिमिल्सिनाले उल्लेख गर्नुभयो । जग्गा व्यवस्थापन भए एक वर्षभित्रै प्रशोधन केन्द्र तयार गर्ने र महागनरलाई कुल कारोबारको तीन प्रतिशत रोयल्टी तिर्ने टेरासोल्भसँग सम्झौता छ ।
महानगरका पूर्वप्रमुख कृष्ण थापा व्यवस्थित र पारदर्शी रुपमा परियोजनाअघि बढाउनुपर्ने सुझाव दिनुहुन्छ । वडा नम्बर १४ मा नेपालकै पहिलो सेनिटरी ल्यान्डफिल निर्माणको अगुवाईसमेत गर्नुभएका थापा समस्याको समाधानमा सबै गम्भीर हुनुपर्ने औंल्याउनुहुन्छ । “एकातिर नागरिकलाई फोहोर दुर्गन्ध फैलिने गरी राख्ने होइन किन रोजगारी दिने ठाउँ बन्छ भनी बुझाउनुपर्छ,” उहाँ भन्नुहुन्छ, “अर्कातिर वातावरणमैत्री हुनैपर्छ ।”