बेलौरी समाचारदाता
बेलौरी (कञ्चनपुर), माघ ८ गते । कञ्चनपुरको वेदकोट नगरपालिका–५, धर्मपुरकी ४० वर्षीय शारदा उपाध्यायले यसअघिको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दुई पटक मत खसाल्नुभएको थियो । निर्वाचनपूर्व नेताहरूले विभिन्न आश्वासन दिए पनि पूरा नगर्दा विश्वास नै लाग्न छोडेको उहाँ बताउनुहुन्छ । महिलालाई रोजगारीका अवसर प्रदान गर्ने, महिलालाई सबै क्षेत्रमा समान हक स्थापित गर्नेलगायतका आश्वासन दिएर उम्मेदवारले मत मागे पनि निर्वाचित भएपछि भने वास्ता नै नगरिँदा निराशा छाएको उहाँले बताउनुभयो ।
“रोजगारीमा समान पहुँच स्थापित नगरिँदा कतिपय महिला बिदेसिन बाध्य छन्,” उहाँले भन्नुभयो, “स्वदेशमै केही गरिरहेका महिलालाई पनि निर्वाचित प्रतिनिधिले स्थानीयलक्षित विकास योजना अगाडि नसार्दा व्यवसाय गर्नसमेत मुस्किल हुने गरेको छ ।” उपाध्याय पूजाआजामा प्रयोग हुने धागो र कपासबाट बत्ती बनाउँदै आउनुभएको छ । आत्मनिर्भर भएकी उहाँ सरकारले उचित नीति निर्माण बनाएर व्यवसाय गर्दै आएका महिलालाई बजारको व्यवस्थापन गर्न माग गर्नुभयो । उचित नीतिनियम लागु नगरिँदा भारतबाट समेत वस्तु आयात हुने गरेकाले आफूले उत्पादन गरेका वस्तुले बजार नपाउने समस्या रहेको उहाँले सुनाउनुभयो ।
नीति निर्माण गर्ने तहमा पुगेका सांसदले उचित नीति बनाएर स्वदेशमा उत्पादित वस्तुलाई बजारीकरण गरिनुपर्ने उहाँले माग गर्नुभयो तर विगतका वर्षमा झुटा आश्वासन मात्रै पाएकाले आगामी निर्वाचनमा युवा प्रतिनिधि निर्वाचित भए केही गर्ने आशा जागेको उहाँ बताउनुहुन्छ ।
यसै गरी शुक्लाफाँटा नगरपालिका–३ का स्थानीय केशव जोशीले विकासनिर्माणका आयोजना बर्सौंदेखि अलपत्र परेको भन्दै निराशा छाएको बताउनुभयो । गाउँमा पुल, सडक निर्माण योजनामा मात्रै सीमित भएका तर निर्माण अगाडि बढ्न नसक्दा जनप्रतिनिधिप्रति विश्वास गुम्दै गएको उहाँले बताउनुभयो । नीति निर्माण गर्ने तहमा पुगेका जनप्रतिनिधिले विकासनिर्माणका आयोजनालाई समयमै पूरा गर्न केन्द्रित हुनुपर्ने उहाँले माग गर्नुभयो ।
भीमदत्त नगरपालिका–२, उल्टाखामका स्थानीय महेश भट्टले अबको निर्वाचनमा नयाँ जोसजाँगर भएका तथा समुदायमा भिजेका व्यक्तिलाई मत खसाल्ने बताउनुभयो । “कोही विदेशबाट झरेर, कोही राजधानीबाट टिकट लिएर चुनाव लड्न आउने गरेका छन्,” उहाँले भन्नुभयो, “विगतका वर्षका अनुभवले समेत अब भने यसै क्षेत्रमा बसेर यहाँको विकासका नीति, योजना निर्माण गर्न सक्ने युवालाई मत खसाल्ने सोच बनाएको छु ।”
विगतदेखि निराशा मात्रै छाएको बताउँदै उहाँले अब भने यस क्षेत्रको विकास गर्न चाहने तथा जनप्रिय उम्मेदवारलाई मत खसाल्न जरुरी देखिएको बताउनुभयो । जिल्लाको बेलडाँडी गाउँपालिका–२, नवजागरण टोलका स्थानीय गोकर्ण जोशीले यसअघि दुई पटक प्रतिनिधि सभा सदस्य र दुई पटक स्थानीय तहको निर्वाचनमा मत खसाल्नुभयो । प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचितले यसअघि यो क्षेत्रका लागि आवश्यक पर्ने नीतिनियम बनाउन भने चुकेको आभास भएको उहाँ बताउनुहुन्छ । नजिकै रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आवश्यक पर्ने काठदाउरा उपलब्ध नहुँदा बाहिर वा भारतबाट महँगोमा फर्निचरलगायतका सामग्री खरिद गर्नु परेको भन्दै उहाँ निराश हुनुहुन्छ ।
अब निर्वाचित हुने प्रतिनिधिलाई यस क्षेत्रको विकास तथा युवालाई स्वदेशमै स्वरोजगार सिर्जना गर्न सक्ने नीति बनाउन उहाँले आग्रह गर्नुभयो । यसका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने जनावरले गर्दा किसान रातभर जाग्राम बस्नुपर्ने, बालीनाली जोगाउन मुस्किल हुने गरेकाले उचित नीति तयार गरी वन्यजन्तुबाट बस्तीको संरक्षण गरिनुपर्ने उहाँले माग गर्नुभयो । बेलौरी नगरपालिका–९ का स्थानीय शङ्कर भारतीले निर्वाचनको समयमा मात्रै भोट माग्न आउने उम्मेदवारले निर्वाचित भएपछि भने यस क्षेत्रका विकास आयोजनाको अनुगमनसमेत नगर्ने बताउनुभयो । जसले गर्दा वडा नं. ९ स्थित डाँडाकुन्डामा छ वर्षपहिले निर्माण सुरु गरिएको खानेपानी आयोजना अलपत्र परेको उहाँले बताउनुभयो ।