• ८ माघ २०८२, बिहिबार

निर्वाचनको महाउत्सव

blog

आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन अब सुनिश्चित हुँदै गएको छ । शान्तिसुरक्षालगायतका अनेक विषय उठान गर्दै निर्वाचन सार्न वा टार्न अनेक कोणबाट गरिएको यत्न विफल हुँदै छन् । प्रतिनिधि सभाको निर्वाचनको मनोनयन मङ्गलबार देशभर सम्पन्न भएपछि अन्योलको बादल फाटेको छ । असाध्य नै उत्साहजनक रूपमा भएको मनोनयनले देश अब निर्वाचनको महाउत्सवको नवीन चरणमा प्रवेश गरेको छ । निर्वाचनमा भाग लिन दलीय सहभागिता अत्यन्तै उत्साहजनक पाइएको छ । कुल ६८ दलले उम्मेदवार खडा गरेका छन् । दलीय रूपमा दुई हजार २९७ जनाले उम्मेदवारी दर्ता गरे । निर्वाचनमा स्वतन्त्र उम्मेदवारी खडा भएर जनमत जित्न सक्ने अवसरको उपयोग भयो । स्वतन्त्र उम्मेदवारसहित कुल तीन हजार ४८४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । यो अन्तिम होइन । अब मनोनयनको छानबिन हुने छ । कतिपय उम्मेदवारले नाम फिर्ता पनि लिन सक्ने छन् । कतिपय उम्मेदवारविरुद्ध उजुरबाजुरसमेत पर्ने छ । निर्वाचन आयोगले यी प्रक्रिया अगाडि बढाउँदै केही दिनमै अन्तिम उम्मेदवारीको टुङ्गो लगाउने छ । उम्मेदवारी मनोनयनका निम्ति देखिएको उत्साहले मुलुक अब जनादेश अनुरूप परिवर्तनतर्फ अग्रसर छ । भदौ २३ र २४ गते नवयुवा पुस्ता अर्थात् जेनजीले गरेको विद्रोहलाई निर्वाचनमार्फत संस्थागत गर्न आसन्न निर्वाचन सफल हुने विश्वास बढेको छ ।

उम्मेदवारीको क्रममा अनेक महाउत्सवका आयाम देखिएका छन् । बर्सौंदेखि संसदीय निर्वाचनको अनुभवले खारिएका उम्मेवारको खाँचो भएको छैन तर मूल रूपमा नयाँ उम्मेदवारको व्यापक प्रवेश आसन्न निर्वाचनको मुख्य आकर्षण हुँदै छ । उमेर समूहगत रूपमा ३६ देखि ५० वर्ष समूहको वर्चस्व नै देखिएको छ । ३६ देखि ५० वर्ष उमेर समूहका एक हजार ६१० जना रहेका छन् । यो ठुलै सङ्ख्या हो । निर्वाचन आयोगका अनुसार २५ देखि ३५ वर्ष उमेर समूहका ५८३ जना रहेका छन् । यसले नयाँ पुस्तालाई संसदीय अभ्यासमा प्रवेश गर्ने अवसर प्रदान गरेको छ । त्यसै गरी ५१ देखि ६५ वर्ष उमेर समूहका एक हजार ९० जनाले मनोनयन दर्ता गरेका छन् भने ६५ वर्षमाथिका २०१ जना रहेका छन् । संसदीय व्यवस्था दलगत व्यवस्थासमेत हो । दलीय आधारमा परेको उम्मेदवारी हेर्दा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) दुई दलले देशका सबै निर्वाचन क्षेत्र अर्थात् १६५ क्षेत्रमा उम्मेदवार उठाएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १६४ स्थानमा उम्मेदवारी दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी दुवैले बराबर १६३ स्थानमा उम्मेदवारी दिएका छन् । एक सयभन्दा बढी स्थानमा उम्मेदवारी दिनेमा अरू पार्टी पनि छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नेपाल मजुदर किसान पार्टीलगायतले एक सयभन्दा बढी स्थानमा उम्मेदवारी दिई महाउत्सवमा सहभागी भएका छन् ।

कुनै पनि निर्वाचनको मनोनयनकै क्रममा अशान्ति हुने जोखिम पनि हुन्छ । विगतका निर्वाचनको अनुभवसमेतका आधारमा शान्ति सुरक्षाको प्रबन्ध प्रभावकारी तवरमा गरिएको छ । मनोनयन शान्तिपूर्ण रूपमा सम्पन्न भयो । निर्वाचन आयोगले मनोनयन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएकोमा राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला सबैलाई धन्यवाद ज्ञापनसमेत गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित समय तालिकाभित्र उत्साहजनक रूपमा मनोनयन सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभएको छ । उहाँले मनोनयन गर्नुहुने सबै राजनीतिक दल तथा उम्मेदवारमा आभार व्यक्त गर्नुभएको छ । निर्वाचनलाई सफल बनाउने जिम्मेवारी अब राजनीतिक दल र उम्मेदवारमा आएको छ । राजनीतिक दल र उम्मेदवारले अब निर्वाचनको कार्यसूचीलाई मूल प्राथमिकता दिनुपर्ने छ । उम्मेदवारी मनोनयनसँगै राजनीतिक पार्टी र उम्मेदवारले घोषणापत्रसमेत बाहिर ल्याएको भए सुनमा सुवास जस्तै हुने थियो । मतदाताले राजनीतिक दल तथा उम्मेदवारका कार्यसूची र प्राथमिकताको लेखाजोखा गर्न अझ सहज हुने थियो । विगतमा राजनीतिक दल तथा उम्मेदवारले अनेक सपना देखाएर घोषणापत्र ल्याउने तर निर्वाचित भएपछि ती सबै वाचा बिर्सने गरेको समेत देखिएको छ । पूरा हुन नसक्ने, साधन र स्रोतले धान्न नसक्ने वाचा यो निर्वाचनमा मान्य हुने छैन । मतदाताले त्यस्ता वाचाप्रति सचेत हुनुपर्ने छ । मतदाताले अब उम्मेदवार तथा राजनीतिक दललाई प्रश्न गर्नुपर्ने छ । के कसरी मुलुकको भविष्य बनाउने भन्ने मार्गचित्रको माग गर्नुपर्ने छ । यो नागरिकको महाउत्सव हो । देशभरका मतदाताले यसलाई सफल पार्नुपर्ने छ । मुलुकलाई उन्नत भविष्यतर्फ उन्मुख गराउने नेतृत्व निर्वाचित गर्नुपर्ने छ ।