राजनीति र लोकतन्त्र एकअर्काका परिपूरक हुन । खुला राजनीतिमा मात्र लोकतन्त्र सम्भव हुने हुनाले राजनीतिक पार्टीको संस्थागत विकास हुनु लोकतन्त्रको सुदृढीकरण हुनु हो । राजनीतिक पार्टीमार्फत नै राजनीतिकर्मीको जन्म हुन्छ । सामान्य अर्थमा कुनै राजनीतिक व्यवस्थाभित्र संवैधानिक संरचना र चुनाव वा क्रान्तिको माध्यमबाट राज्यशक्ति प्राप्त गर्ने र त्यसको अभ्यास गर्ने उद्देश्यले खडा भएको सङ्गठित समूहलाई नै राजनीतिक पार्टी भनिन्छ । यसैले राजनीतिक पार्टी कुनै पनि समाजको सबैभन्दा चेतनशील सक्रिय र सङ्गठित समूह हो, जसले आफ्नो उद्देश्य तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि राज्यशक्ति प्राप्त गर्न खोजिरहेको पाइन्छ । बहुलवादी तथा उदार समाजमा विभिन्न प्रकृतिका राजनीतिक पार्टीहरू कार्यरत हुन्छन्, जसले सार्वजनिक हित तथा कुनै खास समूह, वर्ग वा सम्प्रदायको हित गर्नु नै आफ्नो प्रमुख उद्देश्य ठान्छन् ।
राजनीतिक पार्टीहरूको प्रमुख कार्य निर्वाचनमा प्रतिस्पर्धा गर्नु पनि हो । राजनीतिक प्रक्रियालाई अघि बढाउने, राजनीति तथा निर्वाचन परिचालन गर्ने, जनतालाई प्रशिक्षित गरी जागरण गर्ने, राजनीतिक सहभागिता बढाउने, राजनीतिक संस्कृतिको विकास गर्ने तथा जनप्रतिनिधिले गर्ने काम पनि राजनीतिमार्फत नै सम्पादन हुँदै आएको पाइन्छ । राजनीतिक पार्टी विभिन्न राजनीतिक, आर्थिक एवं सामाजिक परिस्थितिमा उत्पत्ति भई विकास हुँदै आएको पाइन्छ । अठारौँ शताब्दीदेखि बेलायतमा टोरी र ह्विग पार्टीहरूको विकास भएपछि राजनीतिक पार्टीको विकासको इतिहास सुरु भएको ठानिन्छ । यसै गरी सन् १८१४ देखि फ्रान्समा यो प्रक्रिया बढ्यो । अठारौँ र उन्नाइसौँ शताब्दीको मध्यावधिसम्म उत्पत्ति भई विकास भएका बहुसङ्ख्यक पार्टी कन्जरभेटिभ (अनुदार) प्रवृत्तिका भएकाले यिनीहरूलाई आधुनिक अर्थमा दक्षिणपन्थी वा पुरानै मान्यतालाई संरक्षण गर्ने कन्जरभेटिभ पार्टी भनिन्छ ।
बेलायतको कन्जरभेटिभ पार्टी तथा अमेरिकाका दुई प्रमुख पार्टीमध्ये रिपब्लिकन पार्टी यस्ता प्रकृतिका उदाहरण हुन् । उन्नाइसौँ शताब्दीको अन्त्यदेखि माक्र्सवादको प्रभावमा समाजवादी वा समाजवादी प्रजातान्त्रिक पार्टी विश्व रङ्गमञ्चमा देखा परे भने बिसौँ शताब्दीको सुरुमा रुसमा भएको अक्टुबर क्रान्तिका र सोपछि विश्वमा माक्र्सवाद लेनिनवाद विचारधारामा आधारित कम्युनिस्ट पार्टीहरू उत्पत्ति भई विकास भएका हुन् । युरोप तथा अमेरिकामा भएको पुँजीवादको विकास, उदार प्रजातन्त्रको थालनी तथा राजनीतिक घटनाक्रम अनुरूप नै यी तीन धारका पार्टीहरू उत्पत्ति भई विकास भएका थिए । मूल रूपमा यी तीन धारमा विभाजित पार्टीहरू हालसम्म कायमै छन्, तथापि यी तीन धारका पार्टीमा पनि विभिन्न घटक तथा समूह विकास भइसकेका छन् ।
नेपालको सबैभन्दा पुरानो राजनीतिक पार्टीको रूपमा नेपाल प्रजा परिषद् हो । यस पार्टीलाई विसं १९९३ मा टङ्कप्रसाद आचार्यले स्थापना गर्नुभएको थियो । यस पार्टीलाई राणा शासनविरुद्धको पहिलो सङ्गठित प्रयास मानिन्छ तर सक्रिय र आधुनिक पार्टीमध्ये नेपाली कांग्रेस र नेकपा (एमाले) लगायत अहिले १३० भन्दा बढी नै राजनीतिक पार्टी दर्ता भइसकेको अवस्था छ । यस्तै प्रकृतिका राजनीतिक पार्टीको माध्यमबाटै राज्यसत्ताको नेतृत्व गर्ने राजनीतिक कर्मीको जन्म हुने गर्छ । तर राज्यसत्ताको नेतृत्व लिएपछि राजनीतिक नेतृत्वकर्तामा विवेकशिलता र नैतिकतामा विस्तार ह्रास हुँदै गएको देखिएको छ । यसमा पनि नेपालको सन्दर्भमा कवि शिरोमणि लेखनाथ पौडयालले असी वर्षअघि लेख्नुभएको एक कविता विशेषतः ‘मै खाऊँ मै लाऊँ’ भने भावार्थ नेपाली राजनीति वृत्तमा मिल्दोजुदो हुँदै आएको देखिन्छ । अन्य देशको राजनीतिमा यस्तो बिरलै पाइन्छ । उदाहरणको लागि २७ वर्ष रङ्गभेद विरोधी अभियानमा जेल परेका दक्षिण अफ्रिकाका अफ्रिकी राष्ट्रिय कांग्रेसका तत्कालीन नेता नेल्सन मण्डेला उक्त देशको पहिलो लोकतान्त्रिक निर्वाचित राष्ट्रपतिको रूपमा केवल एक कार्यकाल मात्र सेवा गरी पद त्याग गर्नुभयो ।
सन् १९२१ मा भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्व समालेका अहिंसावादी नेता महात्मा गान्धीले गरिबी न्यूनीकरण, महिला अधिकार, धार्मिक तथा जातीय सद्भाव निर्माण, छुवाछुत अन्त्य र स्वतन्त्र सङ्ग्रामका लागि राष्ट्रव्यापी अभियानको नेतृत्व गर्नुभए पनि पनि सन् १९५० मा अङ्ग्रेज शासनबाट भारत स्वतन्त्र भएपछि नेतृत्व छोड्नुभयो । देङ सियाओपिङ आधुनिक चीनका शिल्पकार भनेर चिनिने सर्वोच्च चिनियाँ सुधारवादी नेता हुन् । उहाँको नीतिले अहिलेको चीनको विकासलाई सन् १९८० को दशकमा खुला आर्थिक नीतिमार्फत करिब ३० वर्षको अवधिमा चीनको अर्थतन्त्रलाई विश्वको दोस्रो अर्थतन्त्र भएको देशको रूपमा स्थापित गर्न सफल बनाउनुभयो । उहाँले आफ्नो जीवकालमा कम्युनिस्ट पार्टीको महासचिवबाहेक अन्य कुनै पनि सरकारी पद लिन चाहनुभएन । प्रजातन्त्र प्राप्तिका लागि नेपालमा पनि २०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व लिनुभएका लौहपुरुष गणेशमान सिंहले जनआन्दोलन सफल भएपछि प्रधानमन्त्रीको पद अस्वीकार गर्नुभएको कुरा अझै नेपालीको मानसपटलमा ताजै छ तर अहिलेका राजनीतिक नेतृत्वमा त्यस्तो त्याग देखिएन ।
समयक्रम र सूचना प्रणालीको कारणले गर्दा पुराना राजनीतिक नेतृत्वले लगातार निरन्तरता पाउने अवस्था ढिलो चाँडो क्षयीकरण हुन्छ । यसको उदाहरणका लागि अन्य छिमेकी देश मात्र होइन विश्वका थुप्रै देशको उदाहरण लिन सकिन्छ । जिम्बाबेको स्वतन्त्रता सङ्ग्रामकै लागि योगदान गर्नुभएका रोबर्ट मुगाबे सन् १९८७ देखि नोभेम्बर सन् २०१७ मा अपदस्थ नभएसम्म ३० वर्षसम्म जिम्बाबेका राष्ट्रपति हुनुहुन्थ्यो । यसअघि सन् १९८० देखि सन् १९८७ सम्म प्रधानमन्त्रीको रूपमा उहाँको कार्यकाल रह्यो । उहाँले जिम्बाबेको नेतृत्वको रूपमा कुल ३७ वर्ष सत्तामा बिताउनुभयो । उहाँ असंलग्न राष्ट्रको स्थापना गर्ने एक प्रमुख अफ्रिकी राष्ट्र प्रमुख पनि हुनुहुन्थ्यो तर उहाँको ३७ वर्षको राज्यसत्ता कल्पना भन्दाबाहिरको अवस्था सिर्जना भई नराम्रोसँग अन्त्य भयो । अफ्रिकी महादेशमा नै पर्ने इजिप्टका राष्ट्रपति मोहम्मद होस्नी अल सैयद मुबारकविरुद्धको क्रान्तिका धेरैजसो कारण शक्ति, भ्रष्टाचार, बेरोजगारी, सम्पत्तिको अनुचित वितरण जस्ता कार्य नै मूल कारण भएको हँुदा उहाँको पनि ३० बर्से शासनकालको अन्त्य भई जेल जानु पर्ने अवस्था आयो । छिमेकी देश श्रीलङ्काका तत्कालीन राष्ट्रपति महिन्दा राजपाक्षे तथा बङ्गलादेशको प्रधानमन्त्री शेख हसिनाको पतनको कारण सबैसामु ताजा नै छ ।
कुनै पनि राष्ट्रको भाग्य निर्माणमा राज्यसत्तामा रहने राजनीतिकर्मीको नैतिक मूल्य र मान्यताको ठुलो भूमिका रहन्छ । यस्ता नैतिक नीति कानुनभन्दा पनि माथि रहन्छन् । कतिपय अवस्थामा नैतिक मूल्य र मान्यताको कार्य व्यक्तिको अन्तर आत्माबाट व्यवहारमा कार्यान्वयन हुने गर्छन् । नेपाली समाजमा त्यस्ता नैतिक नीतिको पनि ह्रास भएको देखियो, जसलाई परिमाणमा मापन गर्न सकिँदैन । त्यस्ता कार्य समाज तथा भावी पुस्ताका लागि विषादीको रूपमा स्थापित हुँदै छन् ।
विवेकशील राजनीतिकर्मीको व्यवहार निजी स्वार्थबाट कमै अभिप्रेरित हुने मान्यता छ । राजनीतिशास्त्रको अध्ययन गर्दा राजनीतिज्ञलाई पनि विवेकशील व्यक्तिको रूपमा लिने गरिन्छ । यसैले राजनीतिज्ञ निजी स्वार्थबाट कमै अभिप्रेरित हुनुपर्ने हो । नेपालको सम्बन्धमा राजनीतिज्ञलगायत अन्य कतिपय राजनीतिज्ञका छायामा रहेका व्यक्तिसमेत निजी स्वार्थबाट बढी अभिप्रेरित भएको देखियो । हुन त सबै राजनीतिक नेताको व्यवहार सधैँभरि निजी स्वार्थबाट मात्र प्रेरित भएको हुन्छ भन्ने निष्कर्षमा पुगियो भने त्यस्तो निष्कर्षमा सङ्कीर्ण दृष्टिकोणको परिणाम रहन सक्छ । किनकि कतिपय राजनीतिक नेता आफ्नो जीवनकालमा लामो समयसम्म राजनीतिक सङ्गठन र राजनीतिक क्रियाकलापमा सफल भूमिका वहन गरेका विश्वप्रसिद्ध राजनीतिक नेताको जीवनको अन्तिम समयमा पनि निर्धन अवस्थामै रहेका र समूहको हित र कल्याणमा मात्र प्रतिबद्ध रहेका दृष्टान्त पनि विश्व इतिहासमा रहेका छन् ।
उरुग्वेका पूर्वराष्ट्रपति जोसे अल्बर्टो पेपे एक उरुग्वेली राजनीतिज्ञ, क्रान्तिकारी र किसान हुनुहुन्छ । जसले सन् २०१० देखि सन् २०१५ सम्म उरुग्वेको ४० औँ राष्ट्रपतिको रूपमा सेवा गर्नुभएको थियो । अहिले राष्ट्रपतिको हैसियतमा पाउने सबै सरकारी सेवा त्यागी सामान्य किसानको जीवनयापन गर्दै आउनुभएको छ । प्रधानमन्त्रीको कार्यभार १० वर्षसम्म वहन गरी बेलायती राजनीतिमा एक महत्वपूर्ण छवि बनाउनुभएका बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयर सार्वजनिक हित र शान्तिको काममा संलग्न हुँदै आउनुभएको छ । अमेरिकामा दुई कार्यकाल राष्ट्रपति हुनुभएका बाराक ओबामा अहिले ओबामा फाउन्डेसनमा सक्रिय रूपमा संलग्न हुनुहुन्छ । भविष्यका नेतृत्वलाई सबल बनाउन ओबामा प्रेसिडेन्सियल सेन्टरमार्फत उहाँ सार्वजनिक कार्यमा संलग्न रहँदै आउनुभएको छ । सिङ्गापुरका पिताको नामबाट परिचित सिङ्गापुरका पूर्वप्रधानमन्त्री ली क्यान युले आफ्नो सक्रिय जीवन कालमा नै राजनीति स्वेच्छाले छोडी सामाजिक कार्यमा आबद्धता हुनुभएको थियो । सैनिक अधिकारीबाट राजनीतिमा प्रवेश गर्नुभएका कम्बोडियाका पूर्वप्रधानमन्त्री हुसेनसमेतले प्रधानमन्त्रीको पद स्वेच्छाले नै त्याग गर्नुभयो ।
राजनीतिक भूमिकाबाट प्राप्त हुन सक्ने भौतिक पुरस्कारको कारणले मात्र राजनीतिक भूमिकातिर उत्प्रेरित नभएका केही राजनीतिज्ञ पनि रहेको अवस्था भए पनि नेपाली राजनीतिज्ञमा त्यसतर्फ ध्यान गएको देखिँदैन । निस्वार्थी राजनीतिज्ञ यदाकदा मात्र देखा पर्ने कुरा प्रसिद्ध विद्वान् फ्रोहलिक र ओपेनहिमरले उल्लेख गर्नुभए झैँ नेपालमा अहिले निस्वार्थ, इमानदार तथा विवेकशील राजनीतिक नेतृत्वको अभाव देखा परेको छ ।