• ८ माघ २०८२, बिहिबार

बैङ्किङ सङ्गठनको सर्वेक्षण

blog

सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणलाई अर्को शब्दमा भन्दा ओएनएम सर्भे पनि भन्ने गरिन्छ । ओएनएम सर्भे कुनै पनि सङ्गठनको सङ्गठनात्मक संरचना, व्यवस्थापन प्रणाली, कार्य प्रवाह तथा प्रक्रिया, जनशक्तिको प्रयोग र कार्यक्षमता कतिको प्रभावकारी छ भन्ने कुराको अध्ययन र विश्लेषण गर्ने सर्वेक्षण हो । सर्वेक्षणले संस्थाको वास्तविक स्थिति कस्तो छ ? हुनुपर्ने कस्तो हो ? बिचको दुरी स्पष्ट रूपमा देखाइदिन्छ । यस्तो सर्वेक्षण सङ्गठनले आफ्नो यथावस्थाबाट अगाडि बढ्नका लागि गर्ने गर्छन् । यस्ता सर्वेक्षणबाट प्राप्त प्रतिवेदनको कार्यान्वयनले सङ्गठन समय अनुसार आफूलाई प्रतिस्पर्धी बजारमा अब्बल साबित गर्न सफल हुन्छन् । यसले सङ्गठनको आकार, कर्मचारीको उत्प्रेरणा, गुणस्तरयुक्त सेवा, वृत्तिविकास, लागतमा नियन्त्रण, उच्च व्यवस्थापन तथा सञ्चालकप्रति विश्वास जस्ता विषयहरू बलिया बन्छन्, जसले सङ्गठनको ख्यातिमा वृद्धि गर्छ ।

बैङ्किङ सङ्गठन एउटा यस्तो सेवा हो, जहाँ पारदर्शिता अनिवार्य सर्त मानिन्छ । अर्थतन्त्रको आधारशिला भनेको वित्तीय क्षेत्र र वित्तीय क्षेत्रभित्रको बलियो खम्बा बैङ्किङ सङ्गठन हो । जसले अर्थतन्त्रलाई चलायमान बनाएको हुन्छ । मानिसको जीवनको प्यारो चिजभित्र पर्ने सम्पत्तिको संरक्षण गर्ने आधिकारिक निकाय तथा आवश्यक पर्दा ऋण सहयोग दिने साथीको रूपमा असल वित्तीय कारोबार गर्नेहरूले बैङ्क तथा वित्तीय संस्थालाई बुझेका हुन्छन् । यस्तो संस्थाहरूले दिने सेवा गुणस्तरयुक्त, छिटो छरितो सेवा प्रवाह, विश्वासिलो र न्यून लागतमा सेवा लिने अपेक्षा ग्राहकहरूले सधैँ राखिरहेका हुन्छन् । नेपालमा ओएनएम सर्वेक्षण प्रायः निर्माण सम्पन्न भई सञ्चालन सुरु भएको परियोजनामा गरिन्छ । जस्तै खानेपानी आयोजना, जलविद्युत् आयोजना, सडक, पुल, भवन, अस्पताल, विद्यालय आदिमा गर्ने गरिन्छ ।

गुणस्तरयुक्त सेवा, लागत नियन्त्रण, प्रक्रियामा चुस्तता, संरचनामा आकर्षकता, कर्मचारीमा उत्प्रेरणा, चुस्तदुरुस्त व्यवस्थापनलगायतका विषय समयसापेक्ष हुनका लागि त्यति सहज तरिकाबाट सम्भव हुँदैन । कुनै एक समयमा ठिक भएका विषय, बनेका नीति नियम समयको अन्तरालमा काम नलाग्ने हुन्छन् । असान्दर्भिक तथा तत्कालीन समय अनुसारको माग पूरा गर्न नसक्ने हुन पुग्छन्, जुन कुरा आँखाले नदेख्न सक्छ । सङ्गठनलाई बाहिरी बजार र ग्राहकले कसरी अनुभूत गरेका छन् भन्ने विषय सङ्गठनभन्दा बाहिर पक्षले अझ सहज ढङ्गबाट हेर्न र बुझ्न सक्ने हुन्छ ।

बैङ्किङ सङ्गठनको सर्वेक्षण समयको अन्तरालमा गराई आफ्नो अवस्था के रहेछ ? के गर्नुपर्ने रहेछ ? भन्ने जानकारी लिनु असल सङ्गठनात्मक अभ्यास मान्न सकिन्छ । सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणलाई बैङ्किङ संस्थासँग विषयान्तर गर्दा माथि उल्लेख भए जस्तै बैङ्कको संरचनात्मक संरचना, कार्य प्रणाली र जनशक्ति व्यवस्थापन सुधार गरी कार्यक्षमता, लागत नियन्त्रण र सेवा प्रवाह प्रभावकारी बनाउनका लागि ओएनएम सर्भेक्षण गर्ने गरिन्छ । अझै स्पष्ट रूपमा भन्नु पर्दा बैङ्कको सङ्गठन र व्यवस्थापन प्रणाली प्रभावकारी बनाउने उद्देश्यले यस्ता सर्भेक्षण गर्ने गरेको पाइन्छ । बैङ्किङ संस्थाको ओएनएम सर्भे गर्नुका मुख्य कारण निम्न लिखित छन् : 

जनशक्तिको सही प्रयोग : काम अनुसार जनशक्तिको व्यवस्थापन गर्न सकियोस् । विद्युतीय कारोबार बढेसँगै कर्मचारीलाई डिप्लोएमेन्ट गर्नु र कर्मचारीको उत्पादकत्व बढाई संस्थागत उद्देश्य हासिल गर्न सहज बनाउने छ ।

कर्मचारीको कार्यक्षमतामा वृद्धि : कर्मचारीको कार्यक्षमतामा वृद्धि गरी संस्थागत उद्देश्य हासिल गर्न सहज बनाउने काममा भएका अनावश्यक प्रक्रिया हटाई सेवा प्रवाहको समय घटाएर गुणस्तरयुक्त सेवा ग्राहकलाई प्रदान गर्न यो सर्वेक्षण प्रभावकारी मानिन्छ । 

लागत नियन्त्रण : बैङ्किङ सङ्गठनमा हुने विभिन्न किसिमका लागत नियन्त्रण गरी खर्च र आम्दानीको अनुपातमा सुधार गर्न सकिन्छ । लागत नियन्त्रण गर्ने विषय हरेक पक्षसँग जोडिएको हुन्छ । चाहे त्यो कर्मचारी हटाएर होस् चाहे छिटो काम गरेर होस् चाहे प्रक्रियामा सुधार गरेर होस् सबै विषय उत्पादकत्वसँग जोडिने हुँदा कम लागतमा बढी उत्पादकत्व हासिल गर्न सकिन्छ ।

सङ्गठनात्मक संरचनामा सुधार : सङ्गठनात्मक संरचनाभित्र भौतिक संरचना र नीतिगत संरचना दुवै पर्ने हुँदा केन्द्रीय कार्यालय र शाखाको अख्तियारी सन्तुलन गर्न सकिन्छ । निर्णय प्रक्रिया छिटो छरितो गर्न सकिने र काममा दोहोरोपना हटाउन पनि सर्वेक्षणबाट प्राप्त प्रतिवेदनको कार्यान्वयनले गराउँछ । 

नियामकको नियमन र सुशासन सुनिश्चित : आजका बैङ्किङ संस्थाले नियामकको इन्फोर्समेन्टको दण्ड चलाएपछि मात्र आँखा देख्ने प्रवृत्ति बढ्दो छ । सुशासन, जोखिम, कम्प्लायन्स र नियामकको सुपरिवेक्षणको कैफियतको सम्बोधन गर्न पनि सहयोग पुग्छ ।

बढ्दो तरलता व्यवस्थापन : कर्जाको प्रक्रियामा ढिलाइ, काममा पारदर्शिता, गुणस्तरयुक्त सेवा प्रवाहमा कमी जस्ता विषयले फन्ड आइडियल भएको कारण पहिचान गर्न सकिन्छ । लगानीको गति बढाउन तथा कर्जा र ट्रेजरी युनिट बिचको समन्वयात्मक सुधारबाट उपलब्धि हासिल गर्न सकिन्छ ।

सञ्चालकको निर्णयलाई आधार : सञ्चालक समितिले आवश्यकता अनुसार शाखाहरूको विस्तार, मर्जर तथा बन्द गराउने निर्देशन दिन सक्छन् । मानव साधनको पुनर्संरचना, डिजिटल लगानीको स्वीकृतिलगायतका विषयमा सञ्चालक समितिले दिएका उचित निर्देशनको कार्यान्वयन गर्न सहज बन्छ ।

जोखिमको न्यूनीकरण : समग्र सङ्गठनको अवस्था चुस्तदुरुस्त भएमा जोखिमको मात्रा कम हुँदै जान्छ । यदि सङ्गठनको संरचना, व्यवस्थापन, प्रक्रियालगायतका विषय कमजोर छन् भने जोखिम पनि बढेर जाने हुँदा जोखिमको न्यूनीकरणमा बैङ्किङ संस्थाको सर्वेक्षण महत्वपूर्ण औजारको रूपमा मान्न सकिन्छ । यस्ता विविध विषय बैङ्किङ सङ्गठन तथा व्यवस्थापनसँग जोडिने हुँदा तिनमा सुधार गरी समग्र सङ्गठनात्मक उद्देश्य हासिल गरी प्रतिस्पर्धी बजारमा सफलता हात पार्न बैङ्किङ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण एउटा प्रभावकारी माध्यम बन्न सक्छ । 

सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण एउटा प्रभावकारी औजार हो भन्ने बुझ्दाबुझ्दै पनि कतिपय सङ्गठनले यस्तो औजारको प्रयोग गर्न सकेको पाइँदैन । यथास्थितिमा चलिरहने, परिवर्तन स्वीकारका लागि पछि हट्ने, सङ्गठनलाई एउटा जागिर खाने र समय व्यतीत गर्ने थलोको रूपमा सोच बनाउने नेतृत्वले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको कार्यान्वयनमा चासो देखाएको पाइँदैन । ओएनएम सर्भेलाई केवल सिद्धान्ततः अध्ययन गर्नुभन्दा पनि व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउन सके आजका बैङ्किङ संस्थामा रहेका विभिन्न किसिमका समस्या गुणस्तरयुक्त सेवा, काममा दोहोरोपना, प्रक्रियामा रहेका हैरानी, विद्युतीय लगानीमा वृद्धि, कर्मचारीको डिप्लोएमेन्ट लगायतका पक्ष प्रभावकारी व्यवस्थापन गरी प्रतिस्पर्धी वित्तीय बजारमा सफलता हासिल गर्ने वातावरण सिर्जना गर्न सकिन्छ । 

आजको समयमा डिजिटल कारोबारले कर्मचारीको डिप्लोएमेन्ट, बढ्दो विद्युतीय कारोबारका कारण विद्युतीय क्षेत्रमा गर्नुपर्ने लगानी, बढ्दो तरलताको व्यवस्थापन, लागतको नियन्त्रण, सङ्गठनात्मक संरचनामा पुनर्संरचना जस्ता विषयको उचित व्यवस्थापन गर्न नियामक निकायले बैङ्किङ संस्थालाई कुनै निश्चित समयको अन्तरालमा संस्थागत सर्र्वेक्षण गरी कार्यान्वयनमा जानुपर्ने प्रावधानको व्यवस्था गर्न सके बैङ्किङ संस्थाबाट वित्तीय प्रणालीमा सकारात्मक सहयोग पुग्न सक्ने आशा गर्न सकिन्छ । जसरी दातृ निकाय विश्व बैङ्क, एसियाली विकास बैङ्क, जेआइसिइ, आइएमएफ जस्ता संस्थाको सहयोग भएका परियोजनामा ओएनएम सर्वेक्षण अनिवार्य सर्त राखिएको हुन्छ । तब मात्र नतिजा सकारात्मक देख्न सकिन्छ ।