फडिन्द्र अधिकारी
लेखनाथ, माघ ७ गते । गण्डकी विश्वविद्यालयका उपकुलपतिमा सहप्राध्यापक डा कृष्णराज अधिकारीले बुधबार पदभार ग्रहण गर्नुभएको छ ।
गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको यो विश्वविद्यालयको दोस्रो कुलपति बन्नुभएका सहप्राध्यापक अधिकारी इन्जिनियरिङ अध्ययन संस्थान लामाचौर पोखराका पूर्वप्रमुख हुनुहुन्छ ।
गण्डकी विश्वविद्यालय ऐनमा न्यायिक परिषद्ले तीन जनाको नामा सिफारिस गर्ने र तीमध्ये एकलाई मुख्यमन्त्रीले उपकुलपति नियुक्त गर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माघ ४ गते अधिकारीलाई उपकुलपति नियुक्त गर्नुभएको हो ।
नवनियुक्त उपकुलपति अधिकारी सौर्य ऊर्जामा विद्यावारिधि हुनुहुन्छ भने उहाँ २८ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरी निवृत्त हुनुभएको थियो । गण्डकी विश्वविद्यालयलाई अनुसन्धान र नवप्रवर्तनमुखी बनाउने उहाँले प्रतिवद्धता गर्नुभएको छ ।
न्यायिक परिषद्का अध्यक्ष प्राडा कैलाशनाथ प्याकुरेलको संयोजकत्वमा संगीता सिंह र प्रदेश लोकसेवा आयोग गण्डकी सदस्य योगेन्द्र गौचन रहेको छनोट समितिले उपकुलपतिमा डा अधिकारीसहित प्राडा सरोज कोइराला र वीरबहादुर खनालको नाम सिफारिस भएको थियो ।
पाँच वर्षे कार्यकाल सकेर प्राडा नवराज अधिकारी असोज दोस्रो साता बिदा भएपछि उपकुलपति रिक्त थियो । गण्डकी विश्वविद्यालयका संस्थापक कुलपति प्राडा गणेशमान गुरुङको कार्यकाल सकिएपछि गत चैत २९ गते प्राडा ईन्द्रप्रसाद तिवारी कुलपति नियुक्त हुनुभएको थियो । विश्वविद्यालयमा रजिस्ट्रार पनि रिक्त छ ।