खेमराज सापकोटा
रानी, माघ ७ गते । मोरङको विराटनगर महानगरपालिका –४ क्षेत्रबाट लागूऔषध ब्राउन सुगर तथा प्रतिबन्धित औषधीसहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङ र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले माघ ६ गते चेकजाँचको क्रममा ३७ प ३३६६ नम्बरको मोटरसाइकलमा शंकास्पद अवस्थामा रहेको सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–५ निवासी ३५ वर्षीय सुदिन मन्सुरीलाई १४० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
त्यसैगरी, प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–५ निवासी ५० वर्षीय रोहित कार्कीलाई उनकै कोठाबाट १४ ग्राम २३ मिलिग्राम ब्राउन सुगर, नाइट्राजाम ४६० ट्याब्लेट, कोरेक्स १८ बोतल र स्पास्मोप्रोक्सिभन ३३६ क्याप्सुलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई लागू औषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।