• ७ माघ २०८२, बुधबार

चुनावी रणनीतिमा व्यस्त मुस्ताङका उम्मेदवार

blog

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवार ।

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), माघ ७ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएपछि मुस्ताङका राजनीतिक दलहरू चुनावी रणनीति बनाउन व्यस्त छन् । 

आफ्ना उम्मेदवारलाई जिताउन मनोनयन दर्ताको भोलिपल्ट नै दलहरूको सक्रियता बढेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेपछि नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपासहित ८ दलका नेताहरू चुनावी रणनीतिसँगै चुनावी  अभियानको कार्यतालिका बनाइरहेका छन् ।

मुस्ताङका मतदाता चिसो छल्न जिल्ला बाहिर रहेको अवस्थामा चुनावी अभियानका लागि जिल्ला बाहिरसम्म जाने, मतदातालाई मतदान केन्द्रसम्म ल्याउनेसम्मको तयारी सुरू भएको छ । निकै कम मतदाता रहेको मुस्ताङका दलहरू सार्वजनिक कार्यक्रमभन्दा बढी मतदाता केन्द्रित अभियानमा जुट्ने गरेको एक नेताको भनाइ छ । 

कात्तिक, मङ्सिर महिनामै चिसो छल्न जिल्ला बाहिर गएका मतदाता बसेको स्थानको पहिचान, भेटघाट तथा फागुन २१ गते अगाडि नै जिल्लामा ल्याउने चुनौती दलहरूमा छ । निर्वाचनको मनोनय दर्तापछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली सार्वजनिक गरेपछि आयोजना गर्ने आचारसंहिता पालना, व्यवस्था, अनुगमन र नियन्त्रण सम्वन्धमा आयोजित कार्यक्रमपछि सार्वजनिक रुपमै चुनाव अभियान सञ्चालन गर्ने मुस्ताङका राजनीतिक दलको भनाइ छ । 

यसपटक नेकपा (एमाले) ले उपल्लो मुस्ताङबाट उम्मेदवार बनाएको भने अन्य सबै दलका उम्मेदवार तल्लो मुस्ताङका छन् । नेपाली कांग्रेसले आफ्नो पकड जोगाउने, नेकपा (एमाले) ले गुमेको बर्चस्व कायम गर्ने र नेकपासहित अन्य दलले पहिलो पटक जित्दै इतिहास रच्ने दाउमा छ । 

बि.स २०७९ सालमा सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणाम हेर्दा नेपाली कांग्रेसबाट हालमा उम्मेदवार थकाली तीन हजार ९९२ मत प्राप्त गरी विजय भएका थिए भने प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार प्रेम तुलाचनले तीन हजार ७८ मत ल्याएका थिए । 

जेनजी आन्दोलनपछि पूराना शक्तिको मत यथावत छ वा कमजोर भएको छ ।  यस पटकको निर्वाचनमा देखिने छ । यस पटक गठबन्धन नगरी एकल चुनावी मैदानमा उत्रिएका दललाई मतदाता आफ्नो पक्षमा पार्न निकै कसरत गनुपर्ने देखिन्छ । 

नेकपा (एमाले) बाट लोमान्थाङ गाउँपालिकाका इन्द्रधारा डाढु विष्ट, नेपाली कांग्रेसबाट निवर्तमान प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली, नेपाली कम्युनिष्ट पार्टीबाट ङुटुक गुरूङ, राष्ट्रि«य स्वतन्त्र पार्टीबाट अधितियचन्द्र थकाली, आम जनता पार्टीबाट अजय विक, मंगोल नेशनल अर्गनाइजेशनबाट यमबहादुर गुरूङ, राष्ट्रि«य प्रजातन्त्र पार्टीबाट कमला लालचन र उज्यालो पार्टीबाट डा. सुरेन्द्र शेरचनले उम्मेदवारी दिएका छन् । 

जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि राजनीतिक दल, उम्मेदवारसँग छलफल कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । जिल्लामा थासाङ, घरपझोङ, बाराजुङ मुक्ति क्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदानस्थलमा कुल ११ हजार ३ सय २८ रहेका छन् ।