• ७ माघ २०८२, बुधबार

प्रतिनिधिसभा निर्वाचनः पाँच उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

blog

फाइल तस्बिर

काठमाडौँ, माघ ७ गते। आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका तीन हजार ४८६ उम्मेदवारमध्ये ५ जनाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। 

निर्वाचन आयोगले बुधवार पत्रकार सम्मेलनको आयोजना निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमार्फत ५ उजुरी दर्ता भएको जानकारी दिएको हो। 

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार भक्तपुर-२ मा दुई वटा र सुनसरी-२,  रौतहट-१ र कैलाली-१ मा एक एक गरी जम्मा ५ वटा उजुरी दर्ता भएका हुन्। 

उहाँले निर्वाचन कार्यतालिका अनुसार बिहीबार उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने जानकारी दिनुभयो। 

उहाँले भन्नुभयो, ‘सुनसरी जिल्ला क्षेत्र नम्बर २, भक्तपुर जिल्ला क्षेत्र नम्बर २ दुई वटा र रौतहट जिल्ला क्षेत्र नम्बर १ र कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा एक, एक गरी जम्मा ५ वटा उजुरी परेको छ। निर्वाचन कार्यतालिका अनुसार भोलि उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम रहेको छ।’

उहाँले माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिनुभयो। 

सोही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ।