• ७ माघ २०८२, बुधबार

नापी कार्यालय ताप्लेजुङद्वारा दोब्बर बढी राजस्व सङ्कलन

blog

नापी कार्यालय ताप्लेजुङ । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू 
ताप्लेजुङ, माघ ७ गते ।
नापी कार्यालय ताप्लेजुङले दोब्बरभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा गत आर्थिक वर्षको तुलनामा दोब्बरभन्दा बढी राजस्व सङ्कलन गरेको हो ।

चालु आवको साउनदेखि पुस मसान्तसम्ममा नापी कार्यालय ताप्लेजुङले १९ लाख ९५ हजार तीन सय ८७ रुपियाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख, नापी अधिकृत इन्जिनियर रजिता श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षको तुलनामा चालु आवमा ११ लाख ६६ हजार नौ सय ८२ रुपियाँ बढी राजस्व सङ्कलन भएको छ । कार्यालयको तथ्याङ्क अनुसार गत आवको ६ महिनामा ८ लाख २८ हजार ४ सय ५ रुपियाँ मात्र राजस्व सङ्कलन भएको थियो ।

चालु आर्थिक वर्षमा सबैभन्दा बढी फिल्ड रेखाङ्कनबाट १७ लाख ८५ हजार नौ सय ५९ रुपियाँ, नक्सा बिक्रीबाट दुई लाख चार हजार सात सय ९८ रुपियाँ, क्षेत्रीय किताब उतारबाट तीन हजार ८ सय ८० रुपियाँ र कित्ता एकीकरणबाट सात सय ५० रुपियाँ राजस्व सङ्कलन भएको अधिकृत श्रेष्ठले बताउनुभयो ।

जग्गा नापजाँच तथा नक्सा श्रेस्ता अद्यावधिक सम्बन्धी निर्देशिका २०८१ अनुसार फिल्ड रेखाङ्कनको राजस्व बढाइएको, छुट जग्गा दर्ताका लागि फिल्ड बुक र नक्सा लिनेको सङ्ख्या वृद्धि हुँदा राजस्व समेत बढी सङ्कलन भएको प्रमुख श्रेष्ठको भनाइ छ ।

कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा १६ लाख ५४ हजार ८ सय ३७ रुपियाँ गत आवमा २८ लाख ४६ हजार ८ सय २५ रुपियाँ राजस्व सङ्कलन भएको छ । तीन आर्थिक वर्षको विवरण अनुसार नापी कार्यालयमा राजस्व रकम सङ्कलन हुने कार्य बढिरहेको छ ।