गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ७ गते । डेढ दर्जनभन्दा उद्योगी व्यवसायी आगामी फागुन २१ गतेको संसदीय निर्वाचनका लागि चुुनावी मैदानमा उत्रेका छन् । निर्वाचनका लागि विभिन्न राजनीतिक दलबाट मङ्गलबार उद्योगी व्यवसायीले मनोनयन दर्ता गराएका हुन् । आगामी निर्वाचनमा नेपालकै धनाढ्यमध्येका व्यवसायी विनोद चौधरीदेखि विभिन्न क्षेत्रका व्यवसायी निर्वाचनमा होमिएका छन् । खास गरी पर्यटन, होटेल, निर्माण, घरजग्गा, मेडिकल, ढुवानीलगायतका क्षेत्रका व्यवसायमा संलग्न व्यवसायीले मनोनयन दर्ता गराएको देखिन्छ ।
यसअघि नै सांसद हुनुभएका विनोद चौधरीले दोस्रो पटक पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । यसअघि २०७९ को निर्वाचनमा पनि चौधरी सोही क्षेत्रबाट निर्वाचित हुुुनुभएको थियो । कांगे्रसकै तर्फबाट स्याङ्जा–१ मा भरतराज ढकाल, धादिङ–१ मा रमेश धमला र धादिङ–२ मा कांग्रेसकै कृष्ण रिजालले मनोनयन दर्ता गराउनुभएको छ । ढकाल वित्तीय क्षेत्रसँग सम्बन्धित हुनुहुन्छ भने धमला र रिजाल पर्यटन व्यवसायी हुनुहुन्छ । कांगे्रसकै तर्फबाट मोरङ–३ मा मेडिकल व्यवसायी सुनील शर्माले मनोनयन दर्ता गराउनुभएको छ । शर्मा यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित हुुनुुभएको थियो ।
यस्तै रुपन्देही–२ मा नेपाली कांग्रेसका तर्फबाट चुुन्नप्रसाद शर्माले उम्मेदवारी दिनुुभएको छ । उहाँ एशोदा फुुड्स प्रालिका सञ्चालक हुनुहुन्छ । त्यस्तै कांगे्रसकै तर्फबाट गोरखा–१ मा व्यवसायी प्रेम खत्री, सोलुुखुुम्बुुमा कार्गो ढुवानी व्यवसायी प्रकाशसिंह कार्की र सुुर्खेत–२ बाट व्यवसायी विष्णुुबहादुर खड्काले उम्मेदवारी दिनुुभएको छ । रसुवाबाट निर्माण व्यवसायी मोहन आचार्यले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँ यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । नेकपा (एमाले) का तर्फबाट लुम्बिनी सुगर मिलका सञ्चालक वीरेन्द्रकुमार कनौडियाले कपिलवस्तु–३ मा उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेकै तर्फबाट मनाङमा व्यवसाय पाल्देन छोपाङ र बारा–४ मा किसान श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट काठमाडौँ–९ मा व्यवसायी डिपी अर्याल, स्याङ्जा–१ बाट पर्यटन व्यवसायी धनञ्जय रेग्मी, भक्तपुुर–१ बाट रुकेश रञ्जित, सुुर्खेत–२ रमेश सापकोटाले उम्मेदवारी दर्ता गराउनुभएको छ । म्यानपावर व्यवसायी अर्याल २०७९ को समानुुपातिकतर्फबाट सांसद हुनुहुन्छ । यस्तै उज्यालो पार्टीबाट काभ्रे–२ मा ज्योत्सना सैँजूले उम्मेदवारी दिनुुभएको छ ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट डोल्पामा धनबहादुर बुढाले उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्माण व्यवसायी बुढा अघिल्लो पटक सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । यस्तै व्यवसायी वीरेन्द्र महतोले सिराहा–४ मा जनमत पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।