यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), माघ ६ गते । बर्दियामा प्रतिनिधि सभा निर्वाचनका लागि दुई निर्वाचन क्षेत्रमा ४० जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन क्षेत्र नं १ मा २२ जना र निर्वाचन क्षेत्र नं २ मा १८ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
निर्वाचन क्षेत्र नं १ मा १९ ओटा राजनीति दलको तर्फबाट र तीन जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नं २ मा १७ वटा राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
दुईवटा निर्वाचन क्षेत्र रहेको बर्दिया जिल्लामा विभिन्न दल र व्यक्तीहरू सौहाद्रपूर्ण वातारणमा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बर्दिया क्षेत्र नं १ मा नेकपा एमालेको तर्फबाट सालिकराम अधिकारी, नेपाली काँग्रेसको तर्फबाट संजय कुमार गौतम, नेपाली कम्युनिष्ट पार्टिबाट विष्णुप्रसाद चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ठाकुरसिंह थारुले उम्मेदवारी दिनु भएको छ ।
त्यसैगरी नागरिक उन्मुक्ती पार्टी नेपालबाट अब्दुल खान, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बिरबहादुर कामी, जनमत पार्टीबाट यमनाथ घिमिरेले उम्मेदवारी दर्ता गराउनु भएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट राजु रानाभाट, नेपाल कम्युनिष्ट पार्टी संयुक्तबाट इन्द्रबहादुर रावल, नेपाल जनमुक्ति पार्टीबाट चन्द्राकुमारी राजगुरुले उम्मेदवरी दिनु भएको छ ।
त्यसैगरी राष्ट्रिय परिवर्तन पार्र्टीबाट श्यामप्रसाद थारु, जनता समाजवादी पार्टीका तर्फबाट मनोज यादव, मंगोल नेशनल अर्गनाईजेसनबाट ज्योती योन्जन, नेकपा (माओवादी) बाट तिमोथी चौधरी, आम जनता पार्टीबाट दत्ता थारू, श्रम संस्कृती पार्टीबाट धनबहादुर वि.क, राष्ट्रिय जनमोर्चाबाट लोक बहादुर रानामगरले नेपाल मजदुर किसान पार्टीबाट पवित्रा शाही, नेपाल मानवतावादी पार्टीका मेघबहादुर कामी उम्मेदवारी दिनुभएको छ ।
क्षेत्र नं १ मा मोहन पौडेल, निर्मल अधिकारी र घनश्याम अधिकारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।
नेकपा (एमाले) बाट उम्मेदवारी दिनुभएका अधिकारी नेकपा एमालेका अध्यक्ष हुनुहुन्छ । नेपाली काँग्रेसका उम्मेदवार गौतम विघटित प्रतिनिध सभाका सदस्य एवं पूर्व सिँचाइ मन्त्री हुनुहुन्छ । यसअघि नागरिक उन्मुक्ती पार्टीबाट उम्मेदवार भई पराजित हुनुभएका ठाकुरसिंह थारू हाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुनुभएको छ ।
बर्दिया क्षेत्र नं २ मा नेकपा (एमाले) बाट विमला वि.क. नेपाली काँग्रेसबाट किशोर सिंह राठौर, नेपाली कम्युनिष्ट पार्टीबाट सुरेश पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रीधर पोखरेलले उम्मेदवारी दिनु भएको छ ।
त्यसैगरी नागरकि उन्मुक्ती पार्टी नेपालबाट खुशीराम थारु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शुशिल चौधरी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट नेत्रराज आचार्य, जनता समाजवादी पार्टी नेपालबाट अनिरुध्या आर्य, नेपाल कम्युनिष्ट पार्टी(माओवादी)बाट टिकाराम चौधरी, नेपाल मजदुृरकिसान पार्टीबाट धर्मराज जैसी, नेकपा (संयुक्त) बाट निता शर्माले उम्मेदवारी दिनु भएको छ ।
श्रम संस्कृती पार्टीबाट मानबहादुर बैगार, राष्ट्रिय जनमोर्चा पार्टीबाट रतन सिंह रावत, आम जनता पार्टीबाट रामेश्वर चौधरी, जनमत पार्टीबाट शशिकुमार यादव, र मंगोल नेशनल अर्गनाइजेसनबाट सोमबहादुर तामाङले उम्मेदवारी दर्ता गर्नुभएको छ । त्यसैगरी उज्यालो नेपाल पार्टीबाट धर्मबहादुर चौधरीले उम्मेदवारी दिनुभएको छ । क्षेत्र नं २ मा नुतन चौधरीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ ।
नेकपा एमालेबाट क्षेत्र नं २ मा उम्मेदवारी दिएकी वि.क. पूर्व राज्यमन्त्री हुनुहुन्छ । ने नेपाली काँग्रेसका उम्मेदवार किशोरसिंह राठौर नेपाली काँग्रेसका पूर्व महामन्त्री हुनुहुन्छ ।
बर्दियामा दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचन क्षेत्र नं १ मा महिला ८४ हजार दुईसय २७, पुरुष ८४ हजार आठ सय तीन र अन्य चार गरी एक लाख ६८ हजार ३४ जना मतदाता रहेका छन् । त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा महिला ७९ हजार ६ सय ४६ र पुरुष ७५ हजार पाँच सय ८४ र अन्य दुई जना गरी एक लाख ५५ हजार दुई सय ३२ जना रहेका छन् ।