• ६ माघ २०८२, मङ्गलबार

धनुषा–४ मा कांग्रेसका महेन्द्र यादव र एमालेका रघुवीर महासेठको उम्मेदवारी दर्ता

blog

उम्मेदवारी दर्ता गराउँदै महेन्द्र यादव र रघुवीर महासेठ । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, माघ ६ गते । नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले धनुषा–४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । 

यस्तै, नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले पनि सोही निर्वाचन क्षेत्र धनुषा–४ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित महासेठलाई प्रतिनिधि सभा सदस्यका लागि पार्टीले पुनः उम्मेदवार बनाएको हो ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा महासेठले कांग्रेसका तत्कालीन सहमहामन्त्री महेन्द्र यादवलाई पराजित गर्दै विजयी भएका हुनुभएको थियो । 

निर्वाचन अधिकृत पुरुषोत्तम खतिवडाका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका राजकिशोर महतो, नेपाली कम्युनिस्ट पार्टीबाट सञ्जयकुमार महतो, आम जनता पार्टीबाट रामकुमार महतो, जनता समाजवादी पार्टीबाट कृष्णचन्द्र साहले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले अबेर साँझसम्म दर्ता प्रक्रियाका काम भइरहेको यकिन सङ्ख्या बताउन नसकिने जानकारी दिनुभयो ।  

यसैगरी, धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट पूर्व सभामुख रामचन्द्र मण्डल, नेपाली कम्युनिस्ट पार्टीबाट पूर्व मन्त्री मातृकाप्रसाद यादव, जनता समाजवादी पार्टीबाट पूर्व मन्त्री दिपक कार्की, नेपाली कांग्रेसबाट पल्टन साह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट किशोर साह, उज्यालो नेपालबाट महेश यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।