• ६ माघ २०८२, मङ्गलबार

दुई पदका लागि नवलपुरमा ३७ जनाको उम्मेदवारी

blog

बोमलाल गिरी

नवलपुर, माघ ६ गते । दुईवटा निर्वाचन क्षेत्र रहेको नवलपुरमा ११ जना स्वतन्त्रसहित ३७ जनाको उमेदवारी परेको छ ।

नवलपुर क्षेत्र नम्बर १ मा ४ जना स्वतन्त्र उमेदवार र १४ वटा राजनीतिक दलका १५ जनासहित १९ जनाको उमेदवारी परेको छ भने क्षेत्र नम्बर २ मा स्वतन्त्रबाट ६ जना र १२ वटा राजनीतिक दलका १२ जनासहित १८ जनाको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ठूला दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सहितका दलले दलबलसहित उमेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी, राप्रपा, प्रगतिशिल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, श्रम संस्कृति पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, उज्यालो नेपाल, राष्ट्रिय जनशक्ति पार्टी, आम जनता पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति लगायतका दलका उमेदवारले उमेदवारी दर्ता गराएका निर्वाचित अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसको तर्फबाट क्षेत्र १ मा दुई जनाको उम्मेदवारी परेको छ । जसमा जिल्ला उपाध्यक्ष बालकृष्ण घिमिरे र गजेन्द्र आलेले उमेदवारी दिनु भएको हो । नवलपुर २ बाट ओम प्रकाश घर्तीले उमेदवारी दर्ता गराउनु भएको छ।

त्यस्तै नेकपा एमालेको तर्फबाट क्षेत्र १ मा भागीरथ सापकोटा र २ मा तिलक महतले उमेदवारी दिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै नेकपाबाट १ मा लोकप्रसाद भुर्तेल र २ मा गणेशमान महतो, रास्वपाबाट १ मा राजन गौतम र २ मा मनिष खनालले उमेदवार दिनुभएको छ ।

त्यसैगरी राप्रपाबाट १ मा दीपक बस्ताकोटी र २ बाट रुनकुमारी महतो, श्रम संस्कृति पार्टीबाट १ मा भिमचन्द्र गुरुङ र २ मा कमल चापागाईले उमेदवारी दिनु भएको छ ।


प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट १ मा सौगात महतो र २ बाट मानसिंह महतो, नेकपा (माओवादी) बाट १ मा बेलबहादुर सारु र २ मा गंगाप्रसाद ज्ञवाली (सुमन) ले उमेदवारी दर्ता गराउनु भएको छ । जनता समाजवादी पाटीबाट १ बाट छविलाल राना मगरले उमेदवारी परेको छ ।

नवलपुर १ मा कांग्रेसका दुई उमेदवार

नवलपुर क्षेत्र नम्बर १ मा कांग्रेसका दुई जना उमेदवारले मनोनयन दर्ता गराउनु भएको छ।

निर्वाचन अधिकृतको कार्यालय १ का सूचना अधिकारी प्रेमप्रसाद पौडेलका अनुसार १ मा बालकृष्ण घिमिरे र गजेन्द्र आले मगरले उमेदवारी दिनुभएको हो ।

गजेन्द्रले सोमबार पार्टीबाट टिकट पाउनु भएको थियो भने बालकृष्ण घिमिरेले मंगलबार पार्टीबाट टिकट पाउनु भएको हो । घिमिरे आफै निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएर उमेदवारी दर्ता गराउनु भएको हो भने आलेले वारेस नामामार्फत उमेदवारी दता गराउनु भएको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पौडेलले बताउनुभयो । उहाँहरु दुबै पक्षलाई बिहीबार छलफलका लागि बोलाइएको छ।