• ६ माघ २०८२, मङ्गलबार

मकवानपुरमा उम्मेद्वारी दर्ता उत्साहजनक

blog

उम्मेदवारी दर्तापछि मकवानपुर निर्वाचन क्षेत्र नं. १ र २ का नेकपा र राप्रपाका उम्मेदवार सामूहिक तस्बिर खिचाउँदै । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, माघ ६ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा उम्मेदवारी दर्ता उत्साहजनक भएको छ ।

हेटौँडा उपमहानगरपालिका–११, थानाभर्याङ स्थित प्रादेशिक कृषि थोक बजारमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दल र स्वतन्त्रले उम्मेदवारी दर्ता गराउनुभएको हो । 

नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी (उनेपा) र स्वतन्त्र उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएको छ । 

नयाँ पार्टीले युवा उम्मेदवारलाई अगाडि सारेको छ भने पुराना पार्टीले पुरानै र केहीले नयाँ अनुहारलाई उम्मेदवार बनाएका छन् । नेपाली कांग्रेस मकवानपुरकाबाट निर्वाचन क्षेत्र नम्बर १ मा बुद्ध लामा तथा निर्वाचन क्षेत्र नम्बर २ मा डिना उपाध्यायले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

एमालेका तर्फबाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा रामेश्वर राना र मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट पूर्वसांसद महेश बर्तौलाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरबाट मकवानपुर क्षेत्र नं. १ बाट बिजय गौतम र मकवानपुर क्षेत्र नं. २ बाट लवशेर विष्टले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

राप्रपा मकवानपुरबाट मकवानपुर निर्वाचन क्षेत्र नं. १ बाट दीपक बहादुर सिंह र मकवानपुर निर्वाचन  क्षेत्र नं. २ बाट राम बहादुर थोकरले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रकाश गौतम र मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रशान्त उप्रेतीले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट तेजप्रसाद उप्रेती (रमेश) र मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट सन्तोष विष्टले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा विद्या श्रेष्ठ र मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट युनिस लामाले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा)बाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट सुरेन्द्र लामा र क्षेत्र नम्बर २ बाट प्रवीण स्याङतानले उम्मेदवारी दर्ता गराउनुभएको हो ।