• ६ माघ २०८२, मङ्गलबार

शीर्ष नेताको उम्मेदवारीले चर्चामा झापाको चुनाव

blog

केपी शर्मा ओली, देवराज घिमिरे र बालेन्द्र शाह ।

विष्णुप्रसाद पोखरेल

दमक, माघ ६ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापामा शान्तिपूर्ण र उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ । प्रमुख राजनीतिक दलहरू र स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी मनोनयन गरेका छन् ।

बिगतका निर्वाचनहरूमा तालमेल र गठबन्धन गरेर उम्मेदवारहरूले उम्मेदवारी मनोनयन गर्ने गरेकोमा यो पटक सबै राजनीतिक दलहरूले उम्मेद्वारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाका अनुसार मङ्गलबार साँझसम्ममा उम्मेदवारी मनोनयनको काम सकिएको छ । 


५ वटा निर्वाचन क्षेत्र रहेको झापामा राजनीतिक दलका शीर्ष नेता, पूर्व प्रधानमन्त्री, निर्वतमान सभामुख, उपसभामुख देखि लिएर नयाँ अनुहारसम्मले उम्मेदवारी मनोनयन गरेपछि यहाँ सबैको चासो गएको छ । 

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह, निर्वतमान सभामुख देवराज घिमिरे, निवर्तमान उपसभामुख इन्दिरा राना मगर, नेपाल कम्युनिस्ट पार्टीबाट रञ्जित तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले उम्मेद्वारी मनोनयन गर्नु भएको छ ।


झापा ५

झापा क्षेत्र नं. ५ देशभर नै चर्चामा रहेको छ । एमाले अध्यक्ष ओली र रास्वपाका वरिष्ठ नेता शाह सहितले यहाँ उम्मेदवारी मनोनयन गर्नु भएको छ । नेकपाबाट विद्यार्थी नेता रञ्जित तामाङले उम्मेदवारी मनोनयन गर्नु भएको छ । नेपाली कांग्रेसबाट मन्धरा पौड्याल र राप्रपाबाट लक्ष्मी सङ्ग्रौलाले उम्मेदवारी मनोनयन गर्नु भएको  निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । श्रम संस्कृति पार्टीको तर्फबाट शिवम सेरानी मगरले उम्मेदवार मनोनयन गरेको बताइएको छ ।


झापा २

झापाको निर्वाचन क्षेत्र नं. २ मा पनि चर्चित अनुहारहरूले नै उम्मेद्वारी मनोनयन गर्नु भएको छ । नेकपा एमालेको तर्फबाट निवर्तमान सभामुख देवराज घिमिरे, रास्वपाबाट निवर्तमान उपसभामुख इन्दिरा राणा मगर, नेपाली कांग्रेसबाट पूर्व मन्त्री सरिता प्रशाई, नेकपाबाट पूर्व मन्त्री धर्मशिला चापागाई र राप्रपाबाट स्वागत नेपाल लगायतको उम्मेदवारी मनोनयन भएको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नंं २ ले जनाएको छ । यसैगरी श्रम संस्कृति पार्टीको तर्फबाट केशव भण्डारीले उम्मेद्वारी मनोनयन गर्नु भएको छ ।

झापा ३

झापा क्षेत्र नं. ३ मा राप्रपाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन सहितका उम्मेदवारहरूले उम्मेद्वारी मनोनयन गर्नु भएको छ । लगातर ३ वटा निर्वाचनमा नेकपा एमालेले उम्मेद्वारी नदिएको यो क्षेत्रमा यो पटक हरी राजवंशीले एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराउनु भएको छ । 


नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई हराएर यसभन्दा अघि लिङ्देन प्रतिनिधि सभा सदस्यमा निर्वाचित बन्नु भएको थियो । यो क्षेत्रमा एमालेसँग तालमेल रहेको थियो ।  यसैगरी नेपाली कांग्रेसबाट राजेन्द्र घिमिरेले उम्मेदवारी मनोनयन गराउनु भएको छ । रास्वपा झापाका सभापति प्रकाश पाठकले यो क्षेत्रबाट उम्मेद्वारी मनोनयन गर्नु भएको छ । नेकपाबाट झापा ३ मा डिल्ली घिमिरे र श्रम संस्कृति पार्टीको तर्फबाट झापा ३ मा दीपक तिम्सिनाले उम्मेदवारी मनोनयन गर्नु भएको छ ।

झापा ४

झापाको क्षेत्र नं. ४ मा निवर्तमान प्रतिनिधि सभा सदस्य लालप्रसाद साँवाले नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गर्नु भएको छ । यसैगरी नेपाली कांग्रेसको तर्फबाट झापा सभापति देउमान थेवेले उम्मेदवार बन्नु भएको छ । कोशी प्रदेश सरकारका पूर्व मन्त्री भक्तिप्रसाद सिटौलाले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनु भएको छ । 

नेकपाको तर्फबाट पुरुषोत्तम चुडालले उम्मेद्वारी मनोनयन गर्नु भएको छ । यसैगरी निर्वाचन अधिकृतको कार्यालय झापा क्षेत्र नं. ४ का अनुसार रास्वपाको तर्फबाट शम्भु सुस्केरा र  श्रम संस्कृति पार्टीको तर्फबाट अमृता राईले उम्मेदवारी दिनु भएको छ । 

झापा १

झापाको क्षेत्र नं. १ मा रास्वपाका निवर्तमान प्रतिनिधि सभा सदस्य एवं रास्वपा नेर्त निशा डाँगी सहितले उम्मेदवारी दर्ता गरेका छन् । नेकपा एमालेको तर्फबाट सहकारी अभियान्ता रामचन्द्र उप्रेतीले उम्मेद्वारी मनोनयन गर्नु भएको छ । नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले यसभन्दा अघि जित्नु भएको यो निर्वाचन क्षेत्रमा जिल्ला उपसभापति केशवराज पाण्डे, नेकपाबाट अशेष घिमिरे र श्रम संस्कृती पार्टीबाट केवलराम राईले उम्मेदवारी दर्ता गराउनु भएको छ ।