• ६ माघ २०८२, मङ्गलबार

एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङको मनोनयन दर्ता

blog

उम्मेदवारी दर्ता गर्दै नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, माघ ६ गते । नेकपा (एमाले) का उपाध्यक्ष एवं निवर्तमान सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मनोनयन दर्ता गर्नु भएको छ । मङ्गलबार दिउँसो एमाले केन्द्रीय सदस्य जमीन्द्रमान घले प्रस्तावक र सचिवालय सदस्य युवराज अधिकारीको समर्थनमा उहाँले मनोनयन दर्ता गर्नु भएको हो ।

उहाँ नवौं पटक चुनाव लड्दै हुनु हन्छ । यसअघि आठ पटक चुनाव लड्नु भएका गुरुङ २०६४, २०७४ र २०७९ मा तीन पटक निर्वाचित हुनु भएको थियो । मनोनयन दर्तापछि सम्बोधन गर्दै नेता गुरुङले संविधान र लोकतन्त्रको रक्षाका लागि, एमालेले सुरु गरेका विकास निर्माणका कामहरू अघि बढाउन आफू र आफ्नो पार्टीको जीत अनिवार्य भएको बताउनु भयो । 

उहाँले अहिलेको निर्वाचन देश बनाउने र भत्काउने बिचको लडाइँ भएको बताउनु भयो । उहाँले भन्नु भयो, “यो लडाइँ लोकतन्त्र जोगाउने र आगजनी गर्नेहरू बिचको हो । यो लडाइँ सज्जनहरू र सहकारी ठगी गरेर हिड्नेहरू बिचको लडाइँ हो ।” 

यो लडाइँमा ठगलाई पराजित गर्नु पर्ने छ । ठगहरूलाई पराजित नगरी देशमा सुशासन आउन सक्दैन । आगजनी गर्ने, तोडफोड गर्नेहरूलाई पराजित नगरी नेकपा (एमाले) को सरकार बन्न नसक्ने उहाँले बताउनु भयो । 

मुलुकको स्वभिमान र स्वतन्त्रता बचाउन एमालेको जीत आवश्यक रहेको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो, “सबैभन्दा महत्त्वपूर्ण हाम्रो मुलुक हो । हाम्रो देश नेपाल हो । नेपालको सिमाना हो । नेपालको माटो हो । नेपालको सिमाना जोगाउन केपी ओली र एमाले बाहेक अरू कोही छैन ।” 

उहाँले पुराना दलले केही पनि गरेका छैनन भन्ने कुरा सत्य नभएको बताउनु भयो । उहाँले भन्नु भयो, “यो मुलुक कस्ले बनायो ? लमजुङका सडक कसले बनायो ?”  लोकतन्त्रमाथि हमला गर्नेहरूले ठुला दलहरूमाथि आक्रमण गर्न थालेको उहाँले बताउनु भयो । “देश जलाउनेले, देशमा प्रतिगमन ल्याउनेहरूले देशको विकास गर्न सक्दैनन् । मुलुक बचाउन सक्दैनन्” उहाँले भन्नु भयो ।

गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदै सङ्घीय सञ्चारमन्त्री बन्नु भएका गुरुङ विज्ञानमा स्नातक गर्नु भएको छ । २०२७ सालमा इशानेश्वर प्रमोद हाइस्कुल, भोर्लेटार (अनेरास्ववियूको तर्फबाट स्ववियु सचिव हुँदै राजनीतिमा लाग्नु भएका गुरूङ २०४० मङ्सिरमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्ला अध्यक्षमा हुनु भएको थियो । 

उहाँले २०३७ मा तत्कालीन नेकपा मालेको सदस्यता लिनु भएको थियो । एमालेमा सचिव, उपमहासचिव हुँदै हाल उपाध्यक्ष हुनु हुन्छ । उहाँ २०६४ सालमा  लमजुङ क्षेत्र नम्बर २ बाट १९ हजार ५ सय ८३ मतसहित उहाँ प्रतिनिधि सभामा विजयी हुनु भएको थियो । गुरुङ २०७४ सालमा गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै मुख्यमन्त्री बन्नु भएको थियो । 

गुरूङकै पालामा प्रदेश संरचनालाई बलियो बनाउन गण्डकी विश्वविद्यालय स्थापना भयो । प्रदेशमा एक घर एक धाराको अभियान सञ्चालन गरेर लाखौं घरमा धारा पुर्‍याउनु भएको थियो । गुरूङ दृष्टिकोण र व्यवहारले गुरुङ बौद्धिक नेताका रूपमा चिनिनु हुन्छ । 

उहाँको जन्म २०१४ साल फागुन १ गते गङ्गाप्रसाद र चिनी गुरुङका छोराका रूपमा गिलुङ गाविस–८, टक्सार (हाल क्होलासोंथार गाउँपालिका–९, टक्सार, लमजुङ) मा भएको हो ।

२०७९ को प्रनिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँगको गठबन्धनमा उम्मेदवार बन्नु भएका तत्कालिन नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङलाई पराजित गर्नु भएका पृथ्वी सुब्बाले यसपटक कांग्रेस, माओवादी र रास्वपा उम्मेदवार प्रमुख प्रतिष्प्रधीको रूपमा सामना गर्नु पर्ने छ । 

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा पृथ्वी सुब्बाले ३४ हजार ९६९ मत ल्याएर विजयी हुँदा प्रमुख प्रतिष्प्रधी देवप्रसाद गुरुङले ३१ हजार ७८९ मत पाउनु भएको थियो । सो निर्वाचनमा रास्वपाका उम्मेदवार धर्म केसीले ९ हजार २९ मत पाउनु भएको थियो ।