काठमाडौँ, माघ ६ गते । नेपाल पुलिस क्लबले एन्फा राष्ट्रिय लिगमा चित्लाङ फुटबल क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ ।
सादोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मङ्गलबार भएको खेलमा पुलिस र चित्लाङ १–१ गोलको बराबरीमा रोकिए । चित्लाङले ४०औँ मिनेटमा म्याथ्यु बाबाटुन्डे ओलान्रेवाजुको गोलमा अग्रता लिएको थियो ।
त्यसपछि पुलिसले ८६औँ मिनेटमा चित्लाङको आत्मघाती गोल सहयोगमा हार टारेको थियो । बराबरीसँगै दुई खेल खेलेको चित्लाङको चार अङ्क छ । पुलिसकाे समान खेलबाट एक अङ्क छ ।
यस्तै अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी र प्लानिङ ब्वाइज युनाइटेड क्लबले गोलरहित बराबरी खेलेको छ । बराबरीसँगै दुवै टोलीले दुई खेलबाट समान चार चार अङ्क बनाएका छन् ।
लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ वटा ए’ डिभिजनसहित मोफसलका लालीगुराँस एसोसिएसन, काँक्रेबिहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसीले प्रतिस्पर्धा गर्ने छन् । लिगको विजेता टोलीले ५० लाख रुपियाँ पुरस्कार पाउने छ ।