अर्जुन काफ्ले
स्याङ्जा, माघ ६ गते । वालिङ नगरपालिका–७, ढोडेपानीमा लु. ३ च. ५१७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।
मङ्गलबार वालिङबाट चापाकोट जाँदैगरेको ट्याक्टर अनियन्त्रित हुदाँ दुर्घटना भएको हो । दुर्घटनाबाट वालिङ–७, केवरे बस्ने ६५ वर्षीय डोलराज कोइराला, टीकापुर–७, कैलाली बस्ने ३५ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो ।
दुर्घटनाबाट गम्भीर भएका दुबैको गह्रौ प्राथमिक केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै सरल गापा–१, पश्चिम नवलपरासी अनन्दनगर बस्ने २८ वर्षीय ट्याक्टर चालक लालबहादुर सुनार, लम्की नपा–५, पाँचचौर कैलाली बस्ने २२ वर्षीय श्याम चौधरी, ३९ वर्षीय लक्ष्मण चौधरी र राप्ती–५, दाङ बस्ने ३५ वर्षीय हुकुमबहादुर दर्लामी मगर घाइते भएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनु भयो ।
घाइतेको शरीरको विभिन्न भागमा चोट लागेको र थप उपचारका लागि पोखरा रिफर गरेको चौधरीले जानकारी दिनु भयो । घटना बारेमा थप अनुसन्धान अगाडि बढाएको चाैधरीले बताउनु भयो ।