हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), माघ ६ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा राजनीतिक दलले मनोनयन दर्ता गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न ८ दलले उम्मेदवारी दर्ता गराइरहेका छन् । नेकपा (एमाले) बाट इन्द्रधारा विष्ट, नेपाली कांग्रेसबाट योगेश गौचन थकाली, नेपाली कम्युनिस्ट पार्टीबाट ङुटुक गुरूङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट आदित्य चन्द्र थकालीले उम्मेदवारी दिनु भएको छ ।
आम जनता पार्टीबाट अजय विक, मङ्गोल नेसनल अर्गनाइजेसनबाट यमबहादुर गुरूङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमला लालचन र उज्यालो पार्टीबाट डा. सुरेन्द्र शेरचनले उम्मेदवार टुङ्गो लगाएर मनोनयन दर्ता गराइरहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिनु भयो ।
निर्वाचन अधिकारी ज्ञवालीले भन्नु भयो, ‘‘मनोनयन दर्ताको काम भइरहेको छ, निर्वाचनमा सहभागी हुने दल र उम्मेदवारलाई आचारसंहिताका बारेमा समेत जानकारी गराएका छौँ ।’’
मनोनयन दर्ताका राजनीतिक दलले तोकिएको मापदण्डको पालना गरेका छन् । मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले मनोनयन दर्तापछि चुनाव केन्द्रित विभिन्न कार्यक्रमका बारेमा दलका प्रतिनिधिलाई जानकारी गराएका छन् ।
तडकभडक नगरी मनोनयन दर्ता प्रक्रियामा सहभागी भएको नेकपा (एमाले) का उम्मेदवार इन्द्रधारा विष्टले बताउनु भयो । मुस्ताङमा विगतमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबिच प्रतिस्पर्धा हुने गरेको भए पनि यसपटक नयाँ दलहरू समेत चुनावी मैदानमा रहेकाले कडा प्रतिस्पर्धाको हुने अनुमान गरिएको छ ।
मनोनयन दर्तापछि अब मुस्ताङमा चुनावी चहलपहल बढ्ने छ । जिल्लामा थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदान स्थलमा कुल ११ हजार ३ सय २८ रहेका छन् ।