गोरखापत्र अनलाइन
कीर्तिपुर, माघ ६ गते । नेकपा (एमाले) तथा मजदुर नेता विनोद श्रेष्ठले काठमाडौँ निर्वाचन क्षेत्र १० मा उम्मेदवारी दर्ता गर्नु भएको छ । आज दिउँसो १ः३० बजे कीर्तिपुरस्थित निर्वाचन अधिकृको कार्यालय पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनु भएको हो ।
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का अध्यक्ष एवम् एमाले केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठले उम्मेदवारी दर्ता गर्नुअघि सांस्कृतिक बाजागाजा र विशाल र्यालीसहित कीर्तिपुर नगर परिक्रमा गरेका थिए । र्यालीमा स्थानीयवासी, पार्टी कार्यकर्ता, खेलाडी र सयौं मजदुरले साथ दिएका थिए ।
नेपाली कांग्रेसका राजन केसीले सो क्षेत्रमा २०६४, २०७४ र २०७९ मा लगातार जित्नु भएको सो क्षेत्रमा यस पटक एमालेबाट बलियो उम्मेदवार श्रेष्ठ आउनु भएको छ । विनोद श्रेष्ठ सामाजिक सुरक्षा कोष लागु गराउन र विपद् व्यवस्थापनमा अगुवाइ गर्ने मजदुर नेताका रूपमा परिचित हुनु हुन्छ ।
२०३६ सालदेखि विद्यार्थी राजनीति हुँदै २०४२ सालदेखि मजदुर आन्दोलनमा होमिएका नेता श्रेष्ठ २०७२ मा संविधान जारी हुँदा संविधान सभा सदस्य हुनु हुन्थ्यो।
एमालेको आठौं महाधिवेशनदेखि लगातार केन्द्रीय सदस्य र १० औं महाधिवेशनमा उहाँ पोलिटब्यूरो सदस्य बन्नु भएको थियो । करिब ७० हजार मतदाता रहेको काठमाडौँ १० मा नेवार समुदायको बाहुल्यता रहेको छ ।
कीर्तिपुर, दक्षिणकाली, फर्पिङ, छैमले, नाघढुङ्गा, चन्द्रागिरी, मछेगाउँ, टौदह, चाल्नाखेल, शेषनारायाण लगायत पालिका र क्षेत्रहरू पर्दछन् । एमाले उम्मेदवार ६१ वर्षीय विनोद श्रेष्ठ चन्द्रागिरी नगरपालिका-४, थानकोटका स्थायी बासिन्दा हुनु हुन्छ ।