बिष्णुप्रसाद पोखरेल
दमक, माघ ६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ । भद्रपुरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उहाँले उम्मेद्वारी दर्ता गराउनु भएको हो ।
यसअघि नेकपा एमालेसँग तालमेल गरेर उहाँ यहि निर्वाचन क्षेत्रबाट निर्वाचित बन्नु भएको थियो । राप्रपाले झापाका ५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिँदै मनोनयन गर्ने निर्णय गरेको थियो ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले देशको अस्तित्व, राष्ट्रियता र समृद्धिका लागि आफ्नो उम्मेद्वारी भएको बताउनु भएको छ । देश बचाउन र देश बनाउनका लागि यो निर्वाचन निर्णायक छ, उहाँले भन्नु भयो ।
झापाको क्षेत्र नं. २ मा राप्रपाको तर्फबाट स्वागत नेपालले र झापा क्षेत्र नंं ५ बाट लक्ष्मी सङ्ग्रौलाले उम्मेद्वारी मनोनयन गरिसक्नु भएको छ । बिहान ११ बजेपछि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयहरूले आलोपालो मिलाएर मनोनयन दर्ता गर्ने कार्य गर्दै आएको छ ।