• ५ माघ २०८२, सोमबार

प्रतिनिधिसभा निर्वाचन : स्याङ्जामा कुन दलबाट को उम्मेदवार

blog

स्याङ्जा निर्वाचन क्षेत्र नं. २ को कार्यालय पुगेका राजनीति दल लगायत । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), माघ ५ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न दलबाट उम्मेदवारको टुङ्गो लाग्ने क्रम जारी छ ।

उम्मेदवार मनोनयन दर्ता गर्ने अघिल्लो दिनसम्म जिल्लामा सक्रिय धेरै दलहरुले आ-आफ्ना उम्मेदवारहरुको तय गरेका छन् । नेपाली कांग्रेस बाहेकका दलहरुले उम्मेदवार तोकिसकेका हुन् ।

नेकपा (एमाले) ले स्याङ्जा क्षेत्र नं. १ मा मिनप्रसाद गुरुङ र क्षेत्र नं. २ मा खिमबहादुर थापालाई उम्मेदवार बनाएको छ । थापा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ भने गुरुङ पूर्व प्रदेश सांसद हुनुहुन्छ ।

यस्तै, नेपाली कम्युनिष्ट पार्टी  (नेकपा) ले स्याङ्जाका दुबै क्षेत्रका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । स्याङ्जा क्षेत्र नं. १ मा शैलेन्द्र घिमिरे र क्षेत्र नं. २ मा पदम विश्वकर्मालाई उम्मेदवार बनाएको हो ।

अर्जुनचौपारी गाउँपालिका–५ का घिमिरे नेकपाका केन्द्रीय सदस्य हुनुहुन्छ भने कालीगण्डकी गाउँपालिका–४ का विश्वकर्मा नेकपाका केन्द्रीय सदस्य तथा दलित मुक्ती मोर्चाका केन्द्रीय उपाध्यक्ष रहनुभएको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले एक क्षेत्रको उम्मेदवारको टुङ्गो लगाएको छ । स्याङ्जा क्षेत्र नं १ बाट डा. धनञ्जय रेग्मीलाई उम्मेदवार बनाएको हो ।

रेग्मी नेपालको पर्यटन क्षेत्रका विज्ञ एवम् नेपाल पर्यटन बोर्ड (एनटिबी) का पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) भएर काम गरिसक्नुभएको छ । क्षेत्र नं.२ मा भने रास्वपाले उम्मेदवारमा तय गर्न सकेको छैन । झविलाल डुम्रे र तोयनारायण रेग्मीमध्ये एकजनालाई उम्मेदवार बनाउने रास्वपाले जनाएको छ ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले स्याङ्जा क्षेत्र नं. २ मा रबिन पाठकलाई उम्मेदवार बनाएको छ । राप्रपाले युवा पुस्तालाई उम्मेदवार बनाएको जनाइएको छ । यस्तै क्षेत्र नं. १ मा उम्मेदवार तय गर्न छलफल भइरहेको राप्रपाले जनाएको छ ।

यस्तै, बिप्लव नेतृत्वको नेकपा माओवादीको तर्फबाट स्याङ्जा क्षेत्र नं. २ मा ध्रुव गौडेललाई उम्मेदवार बनाएको छ । गौडेल नेकपाको केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा पत्रकार हुनुहुन्छ । क्षेत्र नं. १ मा भने उम्मेदवार तय गर्ने प्रक्रिया चलिरहेको नेकपाले जनाएको छ ।

नेपाली कांग्रेसको उम्मेदवारको टुङ्गो लागेको छैन । पार्टीमा देखिएको आन्तरिक विवादका कारण केही ढिलाई भएको कांग्रेस स्याङ्जाका कार्यवाह सभापति केदार काफ्लेले जानकारी दिनुभयो ।

कांग्रेसमा स्याङ्जा क्षेत्र नं. १ बाट चर्चामा रहनु भएका निवर्तमान सांसद तथा जिल्ला सभापति राजु थापा र कांग्रेस प्रदेश उपसभापति मेखलाल श्रेष्ठले आफू उम्मेदवार नबन्ने घोषणा गर्नु भएको छ । अव यो क्षेत्रमा बैंकर तथा नेता भरतराज ढकाल, महाधिवेशन प्रतिनिधि तथा पत्रकार ईन्द्र रिजाल, अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी लगायतको चर्चा छ ।

यस्तै, स्याङ्जा क्षेत्र नं.२ मा महासमिति सदस्य तथा पूर्व प्रदेश सांसद भागवत प्रकाश मल्ल, कांग्रेस कार्यवाहक सभापति केदार काफ्ले, महासमिति सदस्य बिष्णु पौडेल, नेविसंघका पूर्व महामन्त्री युवराज पाण्डे लगायतको चर्चा रहेको छ ।