ठाकुरप्रसाद आचार्य
म्याग्दी, माघ ५ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि म्याग्दीका राजनीतिक दलहरूले धमाधम उम्मेदवारको टुङ्गो लगाउन थालेका छन् । मङ्गलबार (भोली) उम्मेदवारको मनोनय दर्ता गर्ने कार्यक्रम रहेको छ ।
सोमबार बिहानसम्म जिल्लामा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी(एमाले), नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(माओवादी) ले उम्मेदवार टुङ्गो लगाएका छन् ।
कांग्रेसले जिल्ला उपसभापति कर्णबहादुर भण्डारी(केबी), एमालेले केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठ, नेकपाले युवा नेता अर्जुन थापा र नेकपा माओवादीले पोलिब्युरो सदस्य ध्रुव घिमिरेलाई उम्मेदवारका रूपमा अघि सारेको छ । उम्मेदवारको टुङ्गो लगाएका राजनीतिक दलहरूले भोलीको मनोनयन दर्ताको तयारी थालेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने अझै उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । रास्वपाका जिल्ला उपसभापति छबी आचार्यले मङ्गलबार बिहानसम्म उम्मेदवारको टुङ्गो लगाउने जानकारी दिनु भयो । राप्रपा लगायतका अन्य साना राजनीतिक दलहरूले भने उम्मेदवारको टुङ्गो लगाउन बाँकी नै छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक निर्वाचन क्षेत्र रहेको जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता छन् । ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेका छन् ।
एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल र एक सय १९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अतिसंवेदनशील,५८ वटा संवेदनशील र ८ वटा मतदान स्थललाई समान्य भनेर वर्गीकरण गरेको छ ।