विनय कर्ण
कल्याणपुर (सप्तरी), माघ ५ गते । सप्तरीको कञ्चनरूप नगरपालिका–८ मा आगलागी भएको छ । आगलागीबाट ६ लाख रुपियाँ बराबरको क्षति भएको छ ।
आइतबार राति स्थानीय रामचन्द्र ठाकुर र उहाँका भाइ राजकुमार ठाकुरको गाईगोठमा आगलागी हुँदा सो क्षति भएको हो ।
आगलागीबाट रामचन्द्रको टिनको छानो भएको कच्ची गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । गोठभित्र रहेका ४ वटा गाई जलेका छन्। त्यसैगरी, राजकुमारको गोठ पनि आगलागीबाट जलेको छ । गोठभित्र रहेका १ वटा गाई, ३ वटा बाछी र १ वटा बाख्रा जलेका छन् ।
आगलागीबाट दुबैजनाको तीन–तीन लाख गरी कुल ६ लाख रुपियाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनु भयो । दमकल, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा राति करिब ११:४५ बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।