हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), माघ ५ गते । मुस्ताङमा पहिलोपटक मागभन्दा धेरै निर्वाचन प्रहरीको आवेदन परेको छ । विगतमा निर्वाचनमा मागअनुसार निर्वाचन प्रहरी अपुग भएपछि छिमेकी जिल्ला म्याग्दीबाट खटाइने गरिएमा यसपटक तोकिएको भन्दा धेरै आवेदन परेपछि छनौट प्रक्रिया सुरू भएको हो ।
निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ती समितिले आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरी भर्नामा नेपाल प्रहरीतर्फ ३ सय ३२ जना र सशस्त्र प्रहरी बल नेपालमा ३१ जनाको आवेदन परेको छ ।
अत्याधिक चिसोका कारण सुनसान बन्दै गएको मुस्ताङमा निर्वाचन प्रहरीका लागि त्यहाँ कार्यरत मजदुर सहित जिल्ला बाहिरबाट समेत पुगेपछि चहलपहल देखिएको छ । मुस्ताङमा प्रहरी तर्फ २ सय ६६ जनाको कोटा र सशस्त्र प्रहरी बलमा ४६ जना रहेको थियो । सशस्त्र प्रहरी बलमा केही अपुग भएपनि जिल्लाभित्र चाहिने जनशक्ती बाहिरबाट ल्याउनुपर्ने बाध्यता यसपटक हटेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताउनुभयो ।
निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि २०८२ बमोजिम जिल्लामा ३ सय १२ निर्वाचन प्रहरी भर्नाको सूचना जारी गरिएकोमा दुबैतर्फ गरी कुल ३ सय ५४ जनाको आवेदन परेको छ ।
मुस्ताङमा बाहिरी जिल्लाबाट मजदुरी गर्न जानेहरूले छोटो समयका लागि निर्वाचनमा सघाउने तथा अनुभव प्राप्त भएपछि सुरक्षाको क्षेत्रमा पनि काम गर्न सकिने भएकाले भर्ना भएका छन् । आवेदन दिएका ८० प्रतिशतभन्दा बढी जिल्ला बाहिरका छन् ।
निर्वाचनमा ४० दिन खटिने गरी ३४ हजार ७७६ रुपैयाँ तलबसुविधा, यातायात तथा खानाखाजा, दुर्घटना बिमासहित भर्ना भएको २० दिनपछि कुनै मानसिक लगायतका समस्या देखिएमा काम गरे अनुसारको सुविधा पाइन्छ भने मुस्ताङमा स्थानीय भत्ताको समेत सुविधा रहेको छ ।
मुस्ताङ जिल्ला थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदानस्थलमा कुल ११ हजार ३ सय २८ रहेको छ ।