ठाकुरप्रसाद आचार्य
म्याग्दी,माघ ५ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले म्याग्दीले कणबहादुर भण्डारी(केबी) लाई उम्मेदवार बनाउने भएको छ ।
भण्डारी जिल्ला उपसभापति हुनु हुन्छ । पार्टी केन्द्रले भण्डारीलाई उम्मेदवारको टिकट दिएको जिल्ला कार्यसमितिका समितिका सचिव भरतबहादुर रकालले जानकारी दिनु भयो ।
कांग्रेस म्याग्दीले जिल्ला सभापति समेत रहनु भएका निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बीर) र उपसभापति भण्डारीको नाम पहिला नै सिफारिस गरेको थियो । जिल्लाबाट सिफारिस भएका मध्यबाट नै उम्मेदवार टुङ्गो लगाएको सचिव रकालले जानकारी दिनु भयो ।
भण्डारी कांग्रेस भित्र नेता शेखर कोइराला निकट भनेर चिनिनु भएको छ । केन्द्रमा कोइरालाले पार्टीको हालै सम्पन्न भएको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासँग मिलेर निर्वाचनमा जाने बताएसँगै भण्डारीले टिकट पाउनु भएको जिल्लाका नेताहरूले बताएका छन् ।
काठमाडौँमा भएको छलफल तथा भेलाबाट म्याग्दी कांग्रेसलाई एकताबद्ध बनाएर निर्वाचनमा जानका लागि सर्वसम्मत रूपमा उपसभापति भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको सचिव रकालले जानकारी दिनु भयो ।