• ४ माघ २०८२, आइतबार

म्याग्दीमा एमालेबाट श्रेष्ठ उम्मेदवार

blog

नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, माघ ४ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट नेकपा (एमाले) ले पार्टीका केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठलाई उम्मेदवारका रुपमा अघि सारेको छ ।

शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला कमिटी सचिव थमसरा पुनले जानकारी दिनुभयो । श्रेष्ठ २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा(खम्बिर) सँग पराजित हुनुभएको थियो ।

श्रेष्ठ बेनी बजार निवासी हुनुहुन्छ । विद्यार्थी अवस्था देखि राजनीतिमा सक्रिय श्रेष्ठ दुई कार्यकाल जिल्ला कमिटी अध्यक्ष, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य र हालै सम्पन्न भएको पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।

श्रेष्ठसँगै आकाङ्क्षीहरुको जिल्ला कमिटी अध्यक्ष बालकृष्ण सुवेदी, युवा नेता प्रकाश पौडेल मजदुर नेतृ बलादेवी राई र महिला नेतृ पशुपति शाहीलाई जिल्ला कमिटीले केन्द्रमा सिफारिस गरेको थियो ।  

उम्मेदवारको निर्णय भएसँगै एमालेले माघ ६ गते मनोनयन तयारी थालको छ । नेपाली कांग्रेस,नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी लगायत अन्य साना पार्टीहरुको उम्मेदवारको निर्णय हुन बाँकी छ ।