निर्वाचन आयोगले गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई अद्यावधिक गर्ने निर्णय गरेसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक विवादले निकास पाएको छ । प्रतिनिधि सभाका निम्ति ताजा जनादेश लिने फागुन २१ को समयसीमा नजिकिँदै गर्दा देशकै सबैभन्दा ठुलो, पुरानो र लोकतान्त्रिक पार्टी कांग्रेसमा तीव्र अन्योल छाएको थियो । उम्मेदवारी मनोनयनको गृहकार्य गर्नुपर्ने बेला पार्टीमा नेतृत्वको आधिकारिताको विवाद उचाइमा पुग्नु शोभनीय थिएन । कांग्रेस केन्द्रीय कार्यसमितिको वैधानिकताको प्रश्न सामान्य पनि होइन । विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भई अद्यावधिक गर्न निर्वाचन आयोगमा पुगेपछि आधिकारिकताको परस्पर दाबीप्रति सबैको ध्यानाकर्षण हुनु स्वाभाविक थियो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा शुव्रmबार बसेको आयोगको बैठकले थापा नेतृत्वको कार्यसमिति नै आधिकारिक भएको निर्णय सुनायो । कांंग्रेसका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरी हस्ताक्षरसहित केन्द्रीय कार्यालयमा बुझाएका थिए । केन्द्रीय कार्यसमितिले त्यसको सम्बोधन नगरी आउँदो वैशाखमा नियमित महाधिवेशन गर्ने समयतालिका सार्वजनिक गरी विशेष महाधिवेशनलाई विषयान्तर गरेको थियो । पार्टीका तत्कालीन महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी विधान अनुरूप विशेष महाधिवेशन बाध्यात्मक भएको भन्दै केन्द्रीय समिति बैठकमा निरन्तर आह्वान गर्न नेतृत्वसँग आग्रह गरिरहेका थिए । अन्ततः नेतृत्वले नचाहेपछि पुस २७ देखि ३० गतेसम्म काठमाडौँमा विशेष महाधिवेशन आयोजना गरियो । महाधिवेशनमा तत्कालीन संस्थापन पक्ष सहभागी मात्रै भएन स्वामित्व पनि लिएन । बरु महामन्त्री दुवैलाई कारबाही गर्ने बाटो लियो । विशेष महाधिवेशनले थापालाई सर्वसम्मत सभापतिसहित नयाँ कार्यसमिति निर्वाचित ग¥यो । साबिक सभापति शेरबहादुर देउवा र थापा पक्षका दुवै कार्यसमितिले आफू नै आधिकारिक भएको भन्दै निर्वाचन आयोग पुगे ।
विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापा कार्यसमितिलाई आयोगले अद्यावधिक गरेपछि पार्टीको वैधानिक हस्ताक्षर थापाकै हुने छ । आयोगको यो निर्णय अब अन्य राजनीतिक पार्टीहरूका लागि पनि महìवपूर्ण नजिर बन्ने छ । शान्तिपूर्ण र विधिवत् प्रक्रियाबाट नेतृत्व परिवर्तनको बाटो खुला हुने छ । देउवा पक्षले भने आयोगको निर्णय स्वीकार्य नभएको जनाएको छ । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगको निर्णय अमान्य रहेको बताउनुभएको छ । उहाँले आयोगको निर्णय संविधान, राजनीतिक दलसम्बन्धी कानुन र नेपाली कांग्रेसको विधानविपरीत रहेको दाबी गर्नुभएको छ । यसले नयाँ सभापति थापालाई पार्टी एकताको गहन गृहकार्य गर्नुपर्ने जिम्मेवारी सुम्पिएको छ । परिवर्तनकारी पर्यवेक्षकले भने कांग्रेसभित्र रूपान्तरण र परिवर्तनको बहस विधिवत् निष्कर्षमा पुगेको भन्दै उज्ज्वल भविष्यको कामना गरेका छन् । कांग्रेस पार्टीको बागडोर ४९ वर्षीय थापाको काँधमा आउनु स्वाभाविक पुस्तान्तरणसमेत हो । विशेष महाधिवेशनको नारा ‘कांग्रेस बदल्नका लागि, बदलिएको कांग्रेसमार्फत देश बदल्नका लागि’ भन्ने नारा थियो । कांग्रेसको यो विशेष महाधिवेशनले पार्टीको नेतृत्व, नीति र विधान परिवर्तनको निर्णयसमेत गरेको छ । कांग्रेसको इतिहासमा यो दोस्रो विशेष महाधिवेशन हो । कांग्रेसको पहिलो विशेष महाधिवेशन २०१४ जेठ १० र ११ गते विराटनगरमा सम्पन्न भएको थियो । तत्पश्चात् भएको २०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत हासिल गरेको स्मरणीय छ ।
निर्वाचन निकट रहेकाले अब सबैलाई एकजुट बनाएर अघि बढ्नुपर्ने दायित्व नवनिर्वाचित नेतृत्वलाई थपिएको छ । पार्टीको विभाजित मन र मतलाई एकीकृत गर्नुपर्ने छ । सभापति थापाले सबैलाई विश्वास र भरोसा राख्न अनुरोध गर्दै कांग्रेस नवीन ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अगाडि बढेको प्रतिव्रिmया दिनुभएको छ । उहाँले भन्नुभएको छ, “विशेष महाधिवेशनमा सहभागी हुनु भएका/नहुनु भएका, सहमत हुनु भएका÷नहुनु भएका सबै कांग्रेसमा आबद्ध वडादेखि केन्द्रसम्म, देश विदेशमा रहनुभएका सम्पूर्ण अग्रज तथा साथीहरूलाई आग्रह गर्न चाहन्छु, यो विधिविधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन ।” नेपाली कांगे्रस गुटउपगुट, निजी स्वार्थ, नातावाद कृपावाद आदिबाट चलेको आलोचनासमेत हुँदै आएको विदित छ । ती सबै फोहोर सफा गर्नुपर्ने दायित्वसँगै कांग्रेसलाई नयाँ युगमा आधुनिक लोकतान्त्रिक पार्टी बनाउनुपर्ने चुनौतीसमेत छ । कुनै पनि पार्टीको मूल उद्देश्य देशलाई जनचाहनाबमोजिम बदल्ने हो । समृद्धिको यात्रामा अगाडि बढाउने हो । राजनीतिक पार्टीले राष्ट्रिय हितको संवर्धन गर्दै सम्पूर्ण देशवासीको विश्वास आर्जन गर्न सक्नु पर्छ । कांग्रेसको जिम्मेवारी झनै महत्वपूर्ण छ । युवापुस्ताको भावनाको प्रतिनिधित्व गराउनु कम चुनौतीपूर्ण छैन । भदौ २३ र २४ को युवाविद्रोहलाई पनि यहाँ स्मरण गर्न जरुरी छ । यसमै सिङ्गो नेपाली कांग्रेस, नवनिर्वाचित सभापति र आमकांग्रेसजनको भविष्य सुरक्षित हुने छ । अब विभाजित भएर होइन, एकीकृत भएर निर्वाचनरूपी महायज्ञ सम्पन्न गर्ने बाटोमा लाग्नु लोकतन्त्र र कांग्रेसका लागि उत्तम बाटो हुने छ ।