• ४ माघ २०८२, आइतबार

रेसुङ्गामा उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थी सम्मानित

blog

रमेश विश्वकर्मा
गुल्मी, माघ ४ गते।
गुल्मीको रेसुङ्गा नगरपालिकाले उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ। नगरपालिकाले आयोजना गरेको स्थानीयतह स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने विद्याल, शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरिएको हो।

नगरप्रमुख खिलध्वज पन्थी, उपप्रमुख अमृतादेवी कुँवर, जिल्ला समन्वय अधिकारी होमनाथ अधिकारी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख थानेश्वर घिमिरे, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीलगायतले उत्कृष्ट सबैलाई सम्मान गर्नुभएको थियो। कार्यक्रममा लामो समय शिक्षण पेशामा सेवा गरी निवृत्त हुनुभएका महेन्द्र माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक केशरबहादुर थापा, रेसुङ्गा माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक प्रेमनारायण भण्डारीसहित ५६ जना शिक्षकलाई सम्मान गरिएको हो।

सम्मानित हुने सेवा निवृत्त शिक्षकहरुलाई दोसल्ला र सम्मानपत्रद्वारा विशेष सम्मान गरिएको थियो। उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको रेसुङ्गा नगरपालिका शिक्षा शाखाका राममणि पन्थीले जानकारी दिनुभयो। उहाँका अनुसार एसइई २०८१ मा ३.९६ जिपिएसहित नगर प्रथम हुने महेन्द्र माध्यमिक विद्यालयका अभिषेक पाण्डे, ३.९५ जिपिएसहित द्वितीय हुने सिद्धबाबा माध्यमिक विद्यालयका शिव विक र ३.९२ जिपिएसहित तृतीय हुने सिद्धबाबा माध्यमिक विद्यालयकै संस्कृति पौडेललाई क्रमशः १० हजार, ८ हजार र ५ हजार रुपियाँ नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

त्यसैगरी सोही शैक्षिक सत्रको कक्षा १२ को परीक्षामा ३.८१ जिपिए प्राप्त गरी जिल्ला प्रथम हुने महेन्द्र माध्यमिक विद्यालयकी निरुता लम्साल, ३.७७ जिपिए सहित जिल्ला द्वितीय हुने सिद्धबाबा माध्यमिक विद्यालयका आकाश पुरी र ३.७५ जिपिएसहित तृतीय हुने महेन्द्र माध्यमिक विद्यालयका अर्जुन थापा श्रीस तथा रेसुङ्गा माध्यमिक विद्यालयकी वर्षा पन्थीलाई समेत नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको थियो। कार्यक्रममा उत्कृष्ट प्रधानाध्यापकका रुपमा सिद्धबाबा माध्यमिक विद्यालयका डोरविक्रम श्रीस, महेन्द्र माध्यमिक विद्यालयका कृष्णप्रसाद मरासिनी, रेसुङ्गा माध्यमिक विद्यालयका भागीरथ भण्डारी, बुद्ध माध्यमिक विद्यालयका गणेशबहादुर अधिकारी, रिडर्स पब्लिक हाइस्कुलका टिका भलामी, घोर्ले माध्यमिक विद्यालयका हिरासिंह सारङ्कोटी तथा लिटिलस्टार बोर्डिङ स्कुलका ओमबहादुर टण्डनलाई सम्मान गरिएको थियो।

सातौं राष्ट्रपति रनिङ शिल्ड सुरु
यस नगरपालिकामा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगता शनिबारदेखि सुरु भएको छ। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने नाराका साथ सुरु भएको रेसुङ्गा नगरपालिकास्तरीय अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नुहुँदै रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले खेलकुदले विद्यार्थीहरुलाई अनुशासित, स्वस्थ र प्रतिस्पर्धी बनाउने हुँदा सबै खेलाडीलाई स्वस्थ र मर्यादित प्रतिस्पर्धामा सहभागी हुन आग्रह गर्नुभयो।

खेलकुदको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको भन्दै उहाँले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले नगरमा खेलकुद संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो। खेलकुद मानव जीवनका लागि अत्यन्तै आवश्यक रहेको हुँदा खेलकुदले शारीरिक स्वास्थ्यका साथै मानसिक विकासमा समेत सकारात्मक भूमिका खेल्ने बताउनुभयो। प्रतियोगितामार्फत भविष्यमा नगर, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गौरव गर्न सक्ने खेलाडी उत्पादन हुने उहाँको भनाइ छ।

उद्घाटन समारोहमा विद्यार्थीले आकर्षक रुपमा मार्च पास तथा नृत्य र अर्जुन आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले एरोविक डान्स प्रस्तुत गरेका थिए। मार्चपासमा ब्रिलियण्ट युनाइटेड एकेडेमी प्रथम, रिडर्स पब्लिक हाइ स्कुल द्वितीय र अर्जुन आवासीय माध्यमिक विद्यालय तृतीय भएका छन्। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा छात्रा र छात्र दौड, छात्र र छात्राबिच कबड्डी, सटफुट, ज्यावलिन–थ्रो, हाइजम्प, भलिबल छात्र र छात्रा, लमजम्प, त्रिपल जम्प, मार्सलआर्ट प्रतियोगिता सञ्चालन हुने बताइएको छ।