• ४ माघ २०८२, आइतबार

सर्लाही– ३ बाट नारायणकाजी श्रेष्ठ चुनाव लड्न

blog

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

जनार्जन खत्री
सर्लाही, माघ ४ गते ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीको क्षेत्र नं. ३ बाट प्रतिस्पर्धा गर्नुहुने भएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीले सर्लाही क्षेत्र नं. ३ बाट श्रेष्ठलाई टिकट प्रदान गरेको पार्टीका नेता एवम् हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल) ले जानकारी दिनुभयो । नेकपाको केही साताअघि सम्पन्न भेलाले पनि श्रेष्ठको नाम यस क्षेत्रबाट सिफारिस गरेको थियो ।

२०७९ मा यस क्षेत्रबाट नेकपा एमालेका हरिप्रसाद उप्रेती निर्वाचित हुनुभएको थियो । त्यसबेला उप्रेतीले तत्कालिन माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साहलाई झिनो मतान्तरले पराजित गर्नुभएको थियो ।

नेकपा एमालेबाट यो पटक पुनः निवर्तमान सांसद उप्रेतीको एकल नाम सिफारिस भएको छ । निवर्तमान रक्षामन्त्रीसमेत रहनुभएका एमाले नेता उप्रेतीले गोरखापत्रसँग कुरा गर्दै आफ्नो एकल नाम सिफारिस भएकाले टिकट पाउनेमा ढुक्क रहेको र चुनावी भेटघाटसमेत अघि बढाइसकेको बताउनुभयो ।

नेकपाका शीर्ष नेता श्रेष्ठ सर्लाहीको क्षेत्र नं. ३ मा चुनाव लड्न आउने भएपछि यहाँको चुनावी नतिजालाई लिएर सर्वत्र चासो हुन थालेको छ । यस क्षेत्रमा मुख्यगरी नेकपा एमाले र नेकपाबिच नै प्रतिस्पर्धा हुने स्थानीय बताउँछन् ।

यस्तै, नेकपाले सर्लाहीको क्षेत्र नं. २ बाट पूर्वमन्त्री एवम् निवर्तमान सांसद महिन्द्रराय यादवलाई टिकट दिएको छ । यो क्षेत्रमा फेरि एक पटक राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री राजेन्द्र महतोसँग यादवको प्रतिस्पर्धा हुने भएको छ ।

२०७९ मा महतो यो क्षेत्रमा यादवसँग झिनो मतान्तरले पराजित हुनुभएको थियो । महतोको पार्टीबाट उहाँ एक्लैको नाम सिफारिस भएकाले उहाँ र यादवबिच फेरि एकपटक प्रतिस्पर्धा हुने भएपछि यस क्षेत्रमा पनि चुनावी नतिजालाई लिएर चर्चा सुरु भइसकेको छ ।

नेकपालाई सर्लाही क्षेत्र नं. १ मा भने उम्मेदवार टुङ्गो लगाउन सकस परेको छ । क्षेत्र नं. १ बाट प्रमोदकुमार साह, सुरेश काफ्ले, बेची लुङ्गेलीलगायतको नाम चर्चामा छ ।

यस्तै, नेकपा एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहले आज (आइतबार) सम्म पार्टीले सर्लाहीको चारवटै निर्वाचन क्षेत्रबाट उम्मेदवार टुङ्ग्याउने बताउनुभयो । एमाले सर्लाहीले क्षेत्र नं. १ बाट मनोजकुमार देवकोटा, क्षेत्र नं. २ बाट धर्मेन्द्र राय, क्षेत्र नं. ३ बाट हरिप्रसाद उप्रेतीको एकल नाम सिफारिस गरेको छ भने क्षेत्र नं. ४ बाट तीन जनाको नाम सिफारिस गरेर पठाएको छ ।

जिल्लामा अन्य राजनीतिक दलबाट पनि क–कसले टिकट पाउँछन् भन्ने सर्वत्र चासो र चर्चा छ । प्रमुख राजनीतिक दल नेपाली कांग्रेस अहिले दुई समूहमा विभाजित भएकाले कुन समूहका नेताले टिकट पाउँलान भन्ने जिज्ञाशा धेरैमा पाइन्छ । फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पर्सी माघ ६ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।