• ४ माघ २०८२, आइतबार

निर्वाचन प्रहरी : गुल्मीमा दुई दिन म्याद थप्दा पनि ३०१ अपुग आवेदन

blog

जिल्ला प्रहरी कार्यालय गुल्मीमा निर्वाचन प्रहरीमा भर्ना हुनेहरुको भिड । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), माघ ४ गते ।
गुल्मीमा ३०१ निर्वाचन प्रहरी अपुग देखिएको छ । पहिलो भर्ना अवधीभित्र एक हजार २५९ जनाको आवेदन दर्ता भएको थियो । जसका कारण दुई दिन भर्नाको समय थप गरिएको थियो । आगामी प्रतिनिधी सभा निर्वाचनका लागि गुल्मीमा एक हजार ८७४ निर्वाचन प्रहरी भर्ना आह्वान गरिएको छ । जिल्ला प्रहरी कार्यालय, गुल्मी र सशस्त्र प्रहरी वल, नेपाल नं ३७ गुल्मी मार्फत दरखास्त माग गरिएको थियो ।

नेपाल प्रहरीले जिल्ला प्रहरी कार्यालयसहित इलाका प्रहरी कार्यालय रिडी र पुकोटदहबाट समेत दरखास्त दिन सकिने व्यवस्था गरेको छ । जिल्ला प्रहरी कार्यालयतर्फ एक हजार ६९५ माग सङ्ख्यामा एक हजार १२२ पुरुष र २९६ महिला गरेर एक हजार ४१८ जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रवक्ता प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो । सशस्त्र प्रहरीका लागि १७९ जना निर्वाचन प्रहरी माग गरिएकोमा अहिलेसम्म १३८ पुरुष र १७ महिला गरेर १५५ जनाले आवेदन दिएका छन् । नेपाल प्रहरीमा २७७ जना र सशस्त्र प्रहरी तर्फ २४ जना आवेदक अपुग देखिएको सारुले बताउनुभयो ।

निर्वाचन प्रहरीमा महिला तर्फ कम सहभागीता देखिएको छ । नेपाल प्रहरी तर्फ महिला निर्वाचन प्रहरी लागि ६७६ माग सङ्ख्यामा २९६ जनाले मात्र आवेदन दिएका छन् । २०७९ सालको निर्वाचनमा पुरुष एक हजार १३२ र महिला ३२८ गरेर एक हजार ४६० जना म्यादी प्रहरी भर्ना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक सारुले बताउनुभयो । २०७९ सालको निर्वाचनमा भन्दा अहिले ४१४ बढि निर्वाचन प्रहरी माग भएको छ । निर्वाचन प्रहरीको लागि दुई दिन समय थप गरिएको छ ।

गुल्मीमा दुई लाख २९ हजार ५४९ मतदाता कायम भएको छ । गुल्मीमा १४५ मतदान स्थल र २८४ मतदान केन्द्र रहेका छन् । अहिले जिल्लामा तीन मतदान स्थल थपिएका थिए । गुल्मीमा रहेका १४५ मतदान स्थलमध्ये ४८ मतदान स्थल अति संवेदनशील रहेका छन् । ती मध्ये ५७ मतदान स्थल संवेदनशील र ४० मतदान स्थललाई सामान्य अवस्थाको सूचीमा राखिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो ।