फडिन्द्र अधिकारी
लेखनाथ, माघ २ गते। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको छ। कास्कीका मुख्य निर्वाचन अधिकृत एवम् हिमलाल बेल्बासेले शुक्रबार ती कार्यालय औपचारिक रूपमा उद्घाटन गर्नुभयो।
मुख्य निर्वाचन अधिकृत बेल्बासेले कानुनको शासन र जनताको वास्तविक प्रतिनिधित्व सुनिश्चित गर्न निष्पक्ष निर्वाचन अनिवार्य रहेकोमा जोड दिनुभयो। “जनताका प्रतिनिधिले निर्माण गरेको कानुनबाट शासित हुनु नै वास्तविक लोकतन्त्र हो,’ उहाँले भन्नुभयो, “असोज ६ गते उम्मेदवारी मनोनयन आइसकेको छ। हामीले त्यसको तयारी गरिसकेका छौँ।” राजनीतिक दल निर्वाचन प्रक्रियाका मुख्य संवाहक भएको उल्लेख गर्दै उहाँले पत्रकार र नागरिक समाजलाई तथ्यपरक सूचना सम्प्रेषणमार्फत निर्वाचनलाई सफल बनाउन आग्रहसमेत गर्नुभयो।
निर्वाचन आयोगले कास्की जिल्ला अदालतका न्यायाधीश बेल्बासेलाई प्रमुख निर्वाचन आयुक्त नियुक्त गरेको थियो। कास्की निर्वाचन क्षेत्र नम्बर १ का लागि पोखरा–१२ स्थित पशुपन्छी अनुसन्धान, विकास तथा परीक्षण केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ।
क्षेत्र नम्बर १ मा सीता रेग्मी निर्वाचन अधिकृत तोकिनुभएको छ। क्षेत्र नम्बर २ को कार्यालय पोखरा महानगरपालिका वडा नम्बर १७, ड्यामसाइडस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको कार्यालयमा स्थापना गरिएको छ। यस क्षेत्रको निर्वाचन अधिकृतमा निर्मलाकुमारी खड्का हुनुहुन्छ।
कास्कीको निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय कृषि भूमि व्यवस्था तथा सहकारी विकास मन्त्रालयमा स्थापना गरिएको हो। गण्डकी प्रदेश निर्वाचन कार्यालयका प्रमुख नारायण ढकालले कास्कीमा एक सय ५३ मतदान स्थल र तीन सय ६३ मतदान केन्द्र तोकिएको जानकारी दिनुभयो।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले निर्वाचनलाई भयरहित, सुरक्षित र निष्पक्ष बनाउन जिल्लास्तरीय सुरक्षा योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको बताउनुभयो। कास्कीमा निर्वाचन प्रहरीका लागि पहिले तोकिएको म्याद माघ १ गतेसम्म एक हजार सात सयमात्र दरखास्त परेको छ। दुई हजार तीन सय तीन निर्वाचन प्रहरी माग भएकोमा कम आवेदन परेपछि दुई दिन म्याद थप गरिएको छ।
प्रमुख जिल्ला अधिकारी शर्माले चुनाव सफल बनाउन आवश्यकत रणनीति अख्तियार गरिएको उल्लेख गर्नुभयो। “गत भदौ २४ गतेको आन्दोलनका क्रममा फरार भएका कैदीबन्दीलाई फिर्ता ल्याउन र सम्भावित सुरक्षा चुनौती न्यूनीकरण गर्न विशेष रणनीति अपनाइएको छ।” कास्कीमा तीन लाख आठ हजार पाँच सय ७२ मतदाता कायम भएका छन्।