ज्ञानु पंगेनी
मध्यविन्दु, माघ २ गते । नवलपुरको कावासोती नगरपालिका–४, हसौरामा अवस्थित सरस्वती नमूना माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा २९ लाख रुपियाँ नगद आर्थिक सङ्कलन भएको छ ।
विद्यालयले ५० औँ वर्ष पार गरेको अवसर पारेर शनिबारदेखि स्वर्ण महोत्सव मनाउँदै छ । विद्यालयका लागि कार्यक्रम सुरु हुनु पूर्व नै नगद २९ लाख रुपियाँ आर्थिक सङ्कलन भएको हो ।
स्वर्ण महोत्सव सफल पार्न विद्यालयका अभिभावक, स्थानीय समाजसेवी, शुभचिन्तक तथा भूतपूर्व विद्यार्थीहरू समेतबाट उक्त रकम सङ्कलन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा स्वर्ण महोत्सव मूल आयोजक समितिका संयोजक शुसिल पौडेलले जानकारी दिनुभयो । शुक्रबारसम्म नगद २९ लाख रुपियाँ सङ्कलन भएको अध्यक्ष पौडेलले बताउनुभयो ।
विद्यालयले विभिन्न उपसमितिहरू बनाएर स्वर्ण महोत्सवको तयारी गरेको छ । जसअन्तर्गत आर्थिक उपसमिति संयोजक दिलबहादुर आलेको संयोजकत्वमा घरदैलो अभियानमार्फत आर्थिक सङ्कलनको कार्य भएको छ ।
‘अभिभावकहरूले स्वतःस्फूर्त रूपमा आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गर्नुभएको छ । जसले जति सक्नुहुन्छ, त्यति सहयोग गर्नुभएको छ । त्यसबाहेक अन्यबाट पनि विद्यालयलाई सहयोग प्राप्त भएको छ,’ आलेले भन्नुभयो । छिमेकमै रहेको कुमारी निजी शैक्षिक गुठीले नगद पाँच लाख, शंखदेव हसौरा सामुदायिक वनले नौ लाख र कावासोती नगरपालिकाले दुई लाख रुपियाँ नगद सहयोग गर्ने प्रतिबद्धता जनाएको आलेले बताउनुभयो । स्वर्ण महोत्सवबाट करोड रुपैयाँसम्म सङ्कलन गर्ने लक्ष्य रहेको आलेले जानकारी दिनुभयो ।
विद्यालयले माघ ३ गतेदेखि ७ गतेसम्म शैक्षिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमसहित स्वर्ण महोत्सव मनाउँदै छ । तयारी साँझसम्म पूरा हुने जनाइएको छ । समुदायमा जनचेतनाको स्तर अभिवृद्धि गर्ने, शिक्षाको स्तर उकास्ने र विद्यालयलाई थप सशक्त बनाउने उद्देश्यले स्वर्ण महोत्सव आयोजना गरिएको स्वर्ण महोत्सव मूल आयोजक समितिका संयोजक पौडेलले बताउनुभयो ।
विद्यालयमा अहिले १ हजार ७० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा शिक्षक तथा कर्मचारी गरी ५८ जना कार्यरत रहे पनि दरबन्दी अभावका कारण २७ जना शिक्षक निजी स्रोतबाट व्यवस्थापन गर्नुपरेको छ, जसले आर्थिक चुनौती सिर्जना गरेको विद्यालयकी प्रधानाध्यापक कल्पना भण्डारी कडेलले बताउनुभयो ।
स्वर्ण महोत्सवबाट सङ्कलित रकमबाट आर्थिक चुनौतीलाई केही हदसम्म भए पनि टेवा पुग्ने अपेक्षा गरिएको प्रधानाध्यापक भण्डारीको भनाइ छ । वडा कार्यालयबाट निजी स्रोतका शिक्षकहरूका लागि नियमित रूपमा केही रकम विनियोजन गर्दै आएको वडाध्यक्ष नारायणप्रसाद लोहनीले बताउनुभयो ।