• २ माघ २०८२, शुक्रबार

निर्वाचन प्रहरीमा मागअनुसार आवेदन परेन

blog

निर्वाचन प्रहरीमा भर्ना हुनका लागि आवेदन दिनेहरु । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ २ गते । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि ताप्लेजुङमा मागभन्दा कम आवेदन (दरखास्त) परेको छ । आवेदनका लागि गएको शुक्रबारदेखि बिहीबारसम्म तोकिएको समयावधिमा मागभन्दा कम आवेदन परेको हो ।

ताप्लेजुङमा जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाबाट निर्वाचन प्रहरीको आवेदन लिने कार्य भइरहेको छ । आवेदनका लागि पहिलो पटक तोकिएको समयावधिमा मागअनुसार निर्वाचन प्रहरीका लागि आवेदन नपरेको हो । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक जटाशङ्कर यादवअनुसार जिल्लाका लागि निर्वाचन प्रहरीको कोटा ८९२ तोकिएकोमा ८१० जनाको मात्र आवेदन परेको छ । मागभन्दा ८२ जना कम सङ्ख्याले निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिएका प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालयमार्फत निर्वाचन प्रहरीमा भर्ना हुनका लागि आवेदन दिनेमा ५७९ जना पुरुष र १९५ जना महिला रहेका छन् । सशस्त्र प्रहरीको कञ्चनजङ्घा गुल्ममार्फत भने महिला पुरष गरी ३६ जनाले आवेदन दिएका छन् । प्रहरी निरीक्षक यादवका अनुसार जिल्ला प्रहरी कार्यालयमार्फत ८४६ र सशस्त्र प्रहरीमार्फत ४६ जना निर्वाचन प्रहरी भर्ना गर्नेगरी आवदेन खुलाइएको थियो ।

यता निर्वाचन प्रहरी भर्नाका लागि मागअनुसार आवेदन नपरेपछि दुई दिन म्याद थप गरिएको छ । ताप्लेजुङसहित विभिन्न जिल्लामा मागअनुसार आवेदनको सङ्ख्या कम भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले शुक्रबार र शनिबार दुई दिन म्याद थपिएको हो ।

म्याद थप भएपछि शुक्रबारदेखि पुनः निर्वाचन प्रहरीका लागि आवेदन लिन थालिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।