प्रनिश गिरी
कुश्मा, पर्वत माघ २ गते । पर्वतको फलेवास नगरपालिकामा विशेषज्ञ चिकित्सकसहितको टिमले एकै दिन करिव एक हजार तीनसय जना सर्वसाधारण नागरिकको स्वास्थ्य परीक्षण गरेको छ ।
शंकरपोखरीमा विहीबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा आर्थिक रुपमा विपन्न, असहाय, दीर्घरोगी, वृद्धवृद्धाले विशेष बढी स्वास्थ्य सेवा लिएको आयोजकको भनाइ छ ।
फलेवास नगरपालिका –३ शंकरपोखरीमा सहिद हरिदत्त तिवारी स्मृति प्रतिष्ठानले आयोजना गरेको विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य शिविरमा फलेवास नगरपालिका बाहेकका छिमेकी पालिका साथै बाग्लुङको दक्षिणी भेगका सर्वसाधारणले समेत स्वास्थ्य सेवा लिएका छन् । त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा गरिने निःशुल्क स्वास्थ्य परीक्षणमा निःशुल्क औषधी वितरण गरिएको छ ।
गाउँ–गाउँबाट स्वास्थ्य सेवा लिन आउने सर्वसाधारणले मुटु रोग, हाडजोर्नी, स्त्री रोग, जनरल सर्जरीसँगै बाल रोग लगायतको उपचार सेवा लिएका छन् । स्वास्थ्य शिविरमा हुने निःशुल्क परीक्षणहरुमा भिडियो एक्स–रे, मुटु जाँचका लागि इसिजी सेवा लगायत उपलब्ध गराइएको प्रतिष्ठानका संरक्षक गंगाधर तिवारीले बताउनुभयो । शिविरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
स्वास्थ्य सेवामा मुलुककै ख्यातिप्राप्त विशेषज्ञहरु वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. श्यामराज रेग्मी, डा. अनिल भट्टराई, डा. भारती शर्मा, प्रसुति रोग विशेषज्ञ डा. केशव आचार्य, मानसिक रोग विशेषज्ञ डा. सुजना रेग्मी, बालरोग विशेषज्ञ डा. प्रकाश गौतमलगायत २५ जना बढी सहभागी स्वास्थ्यकर्मी सहभागी रहेको शिविर प्रचार–प्रसार समिति संयोजक गिरीजाप्रसाद तिवारीले जनाउनुभयो ।