• २ माघ २०८२, शुक्रबार

युनलाई पाँच वर्ष कैद

blog

पूर्वराष्ट्रपति युन सुक योल ।

सियोल, माघ २ गते । दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई मार्सल ल लागु गर्ने निर्णयसँग सम्बन्धित केही अभियोगमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ । सन् २०२४ को अन्त्यतिर उहाँले जारी गर्नुभएको आदेश तथा त्यससँग जोडिएका अन्य आरोपमा दायर आठ वटा आपराधिक मुद्दामध्ये यो युनविरुद्धको पहिलो अदालती फैसला हो । 

ती मुद्दामा उहाँको कदमले देशको संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पारेको अभियोजन पक्षको दाबी छ । युनमाथि लागेको सबैभन्दा गम्भीर अभियोगमा उहाँले आफ्नो मार्सल ल कार्यान्वयनका सन्दर्भमा विद्रोहको नेतृत्व गरेको आरोप समावेश छ, जसमा कानुनअनुसार मृत्युदण्डसम्मको सजाय हुन सक्ने प्रावधान छ । यद्यपि, उक्त गम्भीर अभियोगमा अन्तिम फैसला आउन बाँकी नै छ ।

यस मुद्दासँग सम्बन्धित रूपमा सियोल केन्द्रीय जिल्ला अदालतले शुक्रबार उहाँलाई हिरासतमा राख्ने अधिकारीको आदेश अवहेलना गरेको लगायतका अन्य अभियोगमा दोषी ठहर गर्दै सजाय सुनाएको हो । अदालतले यी कार्यलाई कानुनी शासनविरुद्धको गम्भीर चुनौतीको रूपमा व्याख्या गरेको छ । यस फैसलापछि युनले तत्काल सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिनुभएको छैन । 

तर यसअघि एक स्वतन्त्र विशेष वकिलले ती आरोपमा उहाँलाई १० वर्षको जेल सजायको माग गर्दा युनको प्रतिरक्षा टोलीले ती आरोप राजनीतिक रूपमा प्रेरित भएको र यस्तो ‘अत्यधिक’ सजायको माग गर्न कानूनी आधार नभएको तर्क प्रस्तुत गरेको थियो । डिसेम्बर २०२४ मा युनले अल्पकालीन रूपमा मार्सल ल लागू गरेपछि उहाँको कदम विरुद्ध देशभर व्यापक जनआन्दोलन सुरु भएको थियो । 

ती प्रदर्शनमा उहाँको निष्कासनको माग चकिँदै गएपछि अन्ततः उहाँमाथि महाभियोग लगाइयो, पक्राउ गरियो र राष्ट्रपतिको पदबाट बर्खास्त गरियो । युनले भने आफ्नो आदेश देशलाई लामो समयसम्म सैन्य शासनमा लैजाने उद्देश्यले नभई आफ्नो एजेन्डामा निरन्तर अवरोध पुर्‍याइरहेको उदार-नियन्त्रित संसदबाट उत्पन्न खतराबारे जनतालाई सचेत गराउन मात्र जारी गरिएको दाबी गर्दै आउनुभएको छ । तर अनुसन्धानकर्ताले भने उक्त आदेशलाई विद्रोह, शक्तिको दुरुपयोग तथा अन्य आपराधिक अपराधको रूपमा व्याख्या गर्दै उहाँले आफ्नो शासन सुदृढ र दीर्घकालीन बनाउन खोजेको निष्कर्ष निकालेका छन् । रासस/एपी