चन्द्र पन्दाक
ताप्लेजुङ, माघ २ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
ताप्लेजुङ जिल्ला अदालतसँगै रहनेगरी शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयको जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले उद्घाटन गर्नुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापनासँगै आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रक्रिया जिल्लामा औपचारिक रुपमा सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्नुहुँदै मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश श्रेष्ठले आगामी निर्वाचनलाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न जिल्लावासी मतदाता, राजनीतिक दललगायत सबै पक्षको सहयोग अनिवार्य हुने बताउनुभयो ।
उहाँले निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गराउन सबै पक्षलाई सहयोगका लागि अपिलसमेत गर्नुभयो । कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले निर्वाचनलाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि जिल्लास्थित सबै सुरक्षा संयन्त्र जिम्मेवार रहने र मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग समन्वय गरेर काम गर्ने बताउनुभयो ।
प्रजिअ सेढाइँले निर्वाचनलाई मर्यादित बनाउन निर्वाचन आचारसंहितासहितका कानुनी व्यवस्थालाई सबैले पालना गर्न पनि आग्रह गर्नुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रममा जिल्लास्थित नेपाली सेनाको दुर्गादल गुल्मका गुल्मपति सेनानी उमेश खड्का, ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतम, सशस्त्र प्रहरी बल नेपाल १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठक, जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठलगायतको उपस्थिति थियो ।
प्रतिनिसभा सदस्यका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङ जिल्लामा ८० वटा मतदानस्थल र १२७ वटा मतदान केन्द्र छन् । आगामी निर्वाचनका लागि जिल्लामा मतदाताको सङ्ख्या कुल ९० हजार ३२७ छ ।