• १८ असार २०८१, मङ्गलबार

देउवा नेतृत्वमा कांग्रेसले गर्व गर्नुपर्छ : सञ्चारमन्त्री कार्की

blog

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा धारणा राख्नुहुँदै कांग्रेस केन्द्रीय सदस्य एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ।

गोरखापत्र अनलाइन 

ललितपुर, साउन २९ गते। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सबैले गर्व गर्नुपर्ने बताउनु भएको छ। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको केन्द्रीय कार्यसमितिको जारी बैठकलाई बुधबार सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, ‘‘हामीले हाम्रो सभापति माथि गर्व गर्नुपर्ने अवस्था छ। थोरै सिट हुँदाहुँदै हामी सरकार मात्र छैनौं, स्थानीय निर्वाचनबाट मुलुकको ठूलो दल बन्न सफल भएका छौं। केन्द्र, प्रदेश र गाउँगाउँमा आज कांग्रेस छ।’’

उहाँले गठबन्धनको सरकार भएकाले यसमा समस्या छन्, त्यसलाई समाधान गर्नुको विकल्प छैन भन्दै देशलाई राजनीतिक स्थायित्व दिन गठबन्धनको निरन्तरता जरुरी रहेको स्पष्ट पार्नुभयो। यसका लागि पार्टीभित्र आन्तरिक एकता कायम गर्नुपर्छ भन्दै नेता कार्कीले ‘हिजो हप्तैपिच्छे करोडौंको भ्रष्टाचार भएको समाचार आउँथे, अहिले देशमा सुशासन कायम भएको उल्लेख गर्नुभयो। 

प्रधानमन्त्री एवम् सभापति देउवाले नेतृत्वमा रहेकै कारण स्थानीय तहको परिणामले नेपाली जनताको मनोविज्ञानमा परिवर्तन ल्याएको भनाइ नेता कार्कीको छ। 

"मुलुक श्रीलंका हुने अवस्थामा छैन "

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले मुलुक श्रीलंकाजस्तो हुने अवस्थामा नरहेको बताउनुभएको छ। केन्द्रीय कार्यालय बीपी स्मृति भवन परिसरमा सञ्चारकर्मीसँग बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभयो। 

“केही समस्या छन् तर, सुनियोजितरुपमा जसरी श्रीलंकाको बाटोमा गइरहेको भन्ने छ,  श्रीलंका हुने अवस्थामा छैनौं”, मन्त्री कार्कीले भन्नुभयो। अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना सदनबाट पारित भएपछि वैदेशिक सहयोग र आर्थिक अनुदानमा सकारात्मक प्रभाव भइरहेको उहाँले बताउनुभयो।

प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय विश्वसनीयता, लगानीमैत्री नीति सकारात्मक उन्मुख रहेको छ भन्नुहुँदै उहाँले भन्नुभयो, “केही अर्थतन्त्रमा समस्या नभएका होइनन्, ती समस्यालाई हामीले सबल अर्थतन्त्रतर्फ अघि बढाउनेछौं, निराश भएर श्रीलंका, श्रीलंका भन्ने आतङ्क छ।”

उहाँले रुस र युक्रेनबीचको युद्धको प्रभाव विश्वभरमा फैलिएको र अमेरिका, जापानलगायतका मुलुकमा मूल्यवृद्धि भइरहेको बताउनुभयो। उहाँले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जनताको अभिमतपश्चात् नयाँ सरकार निर्माण गरिने र नेपाललाई विकास र समृद्धिको दिशामा अग्रसर बनाउनुपर्ने बताउनुभयो। 

“आजभन्दा एक वर्ष अगाडिको परिस्थितिमा अन्योल, अनिश्चय पैदा भएको थियो। राज्य संयन्त्र तहसनहस, संसद् विघटन भयो, त्यो बाध्यात्मक अवस्थामा थियो। मुलुकको राजनीति सही ट्रयाक्मा आएको छ। लोकतन्त्र र संविधानको रक्षा भयो”, उहाँले भन्नुभयो।

उहाँले राष्ट्र बैंकका गभर्नरप्रतिको जिज्ञासामा उहाँले यस विषयमा संसदमा कुरा उठेको र अर्थतन्त्र सम्बन्धमा छानबिन समितिले सत्य, तथ्य विषय बाहिर ल्याउने बताउनुभयो।

मन्त्री कार्कीले मिडियाले खेलेको भूमिकाले पनि जनतामा चेतनाको वृद्धि भएको उल्लेख गर्नुयभो।