ठाकुरप्रसाद आचार्य
म्याग्दी, माघ २ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीको बेनीमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
निर्वाचनमा उम्मेदवारहरुको उम्मेदवारी दर्ता, निर्वाचनका लागि कर्मचारी परिचालन, निर्वाचनसम्बन्धी सामग्रीको व्यवस्थापन तथा भण्डारण, निर्वाचनको प्रशासनिक काम–कारवाही, मतगणना लगायत निर्वाचनसँग सम्बन्धित सम्पूर्ण काम सञ्चालन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
जिल्ला समन्वय समितिको परिसरमा रहेको पूर्वाधार विकास कार्यालयको माथिल्लो तल्लामा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको जिल्ला अदालत म्याग्दीका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा र प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै निर्वाचनको आवश्यक तयारी औपचारिक रुपमा यसै कार्यालयमार्फत गरिने जिल्ला निर्वाचन कार्यालय म्याग्दीका निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले जानकारी दिनुभयो ।
निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउँदै सफल बनाउन जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत थापाले सबैलाई अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो,‘‘निर्वाचनलाई स्वतन्त्र, पारदर्शी, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै सरोकारवालाको साथ र सहयोग आवश्यक हुन्छ ।’’
प्रमुख जिल्ला अधिकारी आचार्यले निर्वाचनलाई स्वच्छ, मर्यादित, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष हरिकृष्ण गौतमले निर्वाचनलाई सफल पार्ने दायित्व पत्रकार एमव् सञ्चारकर्मीको पनि दायित्व भएकाले स्वतन्त्र र निष्पक्ष रुपमा कलम चलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सुरक्षा निकायका प्रमुख र जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मी लगायतको सहभागिता थियो । आगामी फागुन २१ गते गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि म्याग्दीमा कुल ८६ हजार तीनसय ९७ मतदाता कायम भएका छन् ।
प्रतिनिधि सभातर्फ १ निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८२ वटा मतदानस्थल र १ सय १९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अति संवेदनशील, ५८ वटा संवेदनशील र ८ वटा मतदानस्थललाई समान्य भनेर वर्गीकरण गरेको छ ।