• १८ असार २०८१, मङ्गलबार

कांग्रेस केन्द्रीय बैठकमा सदस्यहरुले सुझाव राख्नेक्रम जारी

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार २९ गते । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बुधबार बसेको बैठकमा पनि केन्द्रीय सदस्यहरुले सुझाव राख्नेक्रम जारी रहेको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बैठकबारे जानकारी दिनुहुँदै आजको बैठकमा थप ४० जना सदस्यले आफ्नो धारणा राख्नुभएको जानकारी दिनुभयो । 

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा त्यहाँका जनाधारलाई मध्यनजर राखेर गठबन्धनबारेमा छलफल भएको, पार्टीको संरचना, भ्रातृ तथा शुभेच्छुक संगठनलाई क्रियाशील बनाउनुपर्ने लगायतका विषयमा छलफल भएको उहाँले बताउनुभयो ।

“घर–घर जाऔं, कांग्रेस जिताऔं” अभियानले पार्टीलाई मद्दत गरेको सदस्यहरुबाट सुझाव आएको महतले बताउनुभयो । अबको निर्वाचनमा पनि सो अभियान जारी गर्नुपर्ने सुझाव बैठकमा आएको उहाँले बताउनुभयो । 

“चासो, चिन्ता र असन्तुष्टि छन् भने पार्टी फोरमभित्र नै त्यो छलफल गर्नुपर्छ, बाहिर यो कुराहरु लाँदा अन्योल सिर्जना हुने र एकताको सन्देश नजाने अधिकांशको सुझाव र दृष्टिकोण आएको छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको नेतृत्वको एक वर्ष मोटामोटी आँकलन एवम् समीक्षा  भएको उहाँले बताउनुभयो । मूलतः स्थानीय तह निर्वाचन सफलताकासाथ शान्तिपूर्ण ढंगले सम्पन्न भएको, भ्रष्टाचार रोकिएको र पेट्रोलियम पदार्थको मूल्यवृद्धिसम्बन्धमा तदारुकतासाथ रोक्नुपर्नेमा ध्यान दिनुपर्ने सुझाव बैठकमा आएको उहाँले बताउनुभयो । जनताको आवश्यकतालाई मध्यनजर राखेर सदस्यहरुले सल्लाह, सुझाव दिनुभएको प्रवक्ता मतहतको भनाइ छ । 

यसैगरी, नेता मीन विश्वकर्माले यसबाहेक, उपसभामुख र राष्ट्रिय सभाका उपाध्यक्षको उम्मेवदारका सम्बन्धमा छलफल भएको जानकारी दिनुभयो । यसकालागि गठबन्धनबाट एकभन्दा बढी उम्मेदवार नहुने देखिएको र यसको प्रारम्भिक छलफल भएको उहाँले बताउनुभयो ।

विश्वकर्माले भन्नुभयो, “प्रारम्भिक छलफल भयो, तर व्यक्तिको नाम निश्चित भइसकेको छैन । स्वभाविक हिसाबले यसको हकदार कांग्रेस हो, कांग्रेसले प्रस्ताव गरिसकेपछि अरु दलले सहमति जनाउनुपर्छ । यसअघि कहिले संसद विघटन, कहिले निर्वाचन र नीति तथा कार्यक्रमहरुले अल्मलाएकोले ढिला भयो ।” 

बैठकमा नेताहरुले आगामी निर्वाचनमा गठबन्धनका कारण सिट घट्न नहुने सुझाव राख्नुभएको छ । यसबाहेक अर्थतन्त्र, महँगीलगायतका विषयमा मुख्य छलफल भएको जनाइएको छ । कांग्रेस केन्द्रीय कार्य समितिको बैठक भोलि बिहीबार दिउँसो १ बजे पुनः बस्ने प्रवक्ता महतले बताउनुभयो ।