• २ माघ २०८२, शुक्रबार

मुस्ताङमा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो

blog

जिल्ला प्रहरी कार्यालयमा आवेदन दिनेहरुको भिड । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), माघ २  गते ।
मुस्ताङ जिल्लामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ती समितिको बैठकले शनिबार माघ ३ गतेसम्मलाई म्याद थप गरेको सदस्य सचिव सहायक प्रमुख जिल्ला अधिकारी  एकनारायण भण्डारीले बताउनुभयो ।

अत्याधिक चिसोका कारण सुनसान बन्दै गएको मुस्ताङमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरीका लागि सूचना प्रकाशन गरी पुस २५ देखि माघ १ गतेसम्म आवेदन दिने समयमा आवश्यकभन्दा कमले निर्वाचन प्रहरीमा आवेदन गरेपछि उक्त निर्णय गरिएको सहायक प्रजिअ भण्डारीको भनाइ छ । निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ती तथा परिचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि २०८२ बमोजिम जिल्लामा ३ सय १२ निर्वाचन प्रहरी भर्नाको सूचना जारी गरेको थियो ।

हालसम्म नेपाल प्रहरीमा दुई सय ७५ जना र शसस्त्र प्रहरी बल नेपालतर्फ २१ जना रहेका छन् । मुस्ताङमा प्रहरी तर्फ दुई सय ६६ जनाको कोटा रहेको छ भने शसस्त्र प्रहरी बलमा ४६ जना रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताउनुभयो ।

मुस्ताङमा बाहिरी जिल्लाबाट मजदुरी गर्न जानेहरूले छोटो समयका लागि निर्वाचनमा सघाउने तथा अनुभव प्राप्त भएपछि सुरक्षाको क्षेत्रमा पनि काम गर्न सकिने भएकाले भर्ना हुन लागेको बताएका छन् । आवेदन दिएका ८० प्रतिशतभन्दा बढी जिल्ला बाहिरका छन् ।

निर्वाचनमा ४० दिन खटिने गरी ३४ हजार ७७६ रुपियाँ तलबसुविधा, यातायात तथा खानाखाजा, दुर्घटना विमासहित भर्ना भएको २० दिनपछि कुनै मानसिकलगायतका समस्या देखिएमा काम गरे अनुसारको सुविधा पाइन्छ भने मुस्ताङमा स्थानीय भत्ताको समेत सुविधा रहेको छ । मुस्ताङ जिल्ला थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदानस्थलमा कुल ११ हजार तीन सय २८ रहेको छ ।