गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २ गते । चुलिँदै गएको तरलता र कर्जा प्रवाह कमजोर रहँदा वाणिज्य बैङ्कहरूले माघका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । माघ १ गतेदेखि लागु हुने गरी सार्वजनिक गरिएको ब्याजदर सूची अनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैङ्कहरुमध्ये ११ बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । सात बैङ्कले यथावत् राखेका छन् भने प्राइम कमर्सियल बैङ्कले ब्याजदर बढाएको छ ।
पुसमा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.८३ प्रतिशत रहेकोमा माघमा घटेर ४.६८४५ प्रतिशत पुगेको छ । सो अवधिमा औसतमा ०.१५ प्रतिशत विन्दुले गिरावट आएको हो ।
माघमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज ग्लोबल आइएमई बैङ्कले ५.५ प्रतिशत दिने भएको छ भने सबैभन्दा कम ब्याज स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले ४.३६ प्रतिशत निर्धारण गरेको छ ।
ब्याजदर घटाउने बैङ्कहरूमा कृषि विकास, एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ«े, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबिआई र सिटिजन्स बैङ्क रहेका छन् ।
यस्तै पुसकै ब्याजदर स्थिर राख्ने बैङ्कहरूमा नेपाल बैङ्क, एनआइसी एसिया, प्रभु, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आइएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैङ्क छन् ।
प्राइम कमर्सियल बैङ्कले पुसको ४.२५ प्रतिशतबाट बढाएर ४.४ प्रतिशत पु-याएको छ ।
अहिले बैङ्किङ प्रणालीमा ११ खर्ब रुपियाँभन्दा बढी कर्जा लगानीयोग्य रकम थुप्रिएको छ । कर्जा माग कमजोर भएपछि बैङ्कले आफ्नो अतिरिक्त रकम २.६७ देखि तीन प्रतिशत ब्याजदरमा राष्ट्र बैङ्कमा राखिरहेका छन् ।
राष्ट्र बैङ्कले पछिल्लो समय विभिन्न किसिमका मौद्रिक उपकरण प्रयोग गरी बैङ्किङ प्रणालीबाट तरलता खिच्दै आएको छ । हालसम्म यसरी राष्ट्र बैङ्कमा राखिएको रकम नौ खर्ब रुपियाँ नजिक पुगेको छ ।