डिग्री क्याम्पस विराटनगरमा प्राणीशास्त्र विषयका एक शोधार्थीले आफ्नो शोधपत्र प्रस्तुत गरिरहँदा केही माछाका वैज्ञानिक नाम अनौठो अथवा भनौँ विदेशी, अङ्ग्रेजी पारामा उच्चारण गरिरहनुभएको थियो । त्यो सुनेर एक अग्रज प्राध्यापकले बिचैमा रोकेर भन्नुुभयो, “यी फलाना फलाना नाम त नेपाली भाषाकै हुन् त कस्तो अप्ठ्यारो गरी भनेको ?” त्यसपछि दर्शक दीर्घामा रहेका विज्ञ तथा विद्यार्थी धेरैको दिमाग खुल्यो कि वास्तवमा धरै वनस्पति र प्राणीको वैज्ञानिक नाम नेपाली नै छ । यसको अर्थ नेपालीमा तिनलाई जे कहलाइन्छ, वैज्ञानिक नाम पनि त्यही छ ।
वैज्ञानिक नाम त विश्वव्यापी हुन्छ । नामको अर्थ र नामदायक शब्द उत्पतिको भाषाको कुरा वैज्ञानिक जगत्मा चर्चा हुन्छ । जब वैज्ञानिक नाम नेपाली भाषाको नामबाट राखिएपछि हाम्रो नेपाली र नेपालको नाम पनि वैज्ञानिक समाजमा व्याप्त हुने नै भयो । यस लेखमा कुनै जनावरको नेपाली नामलाई नै वैज्ञानिक नामको रूप र मान्यता दिएका उदाहरण उठान गरिएको छ । जस्तै ः माछा वर्गबाट सुरु गरौँ । नेपालीमा रेबा भनिने माछाको वैज्ञानिक नाम सिरिनस रेबा राखिएको छ । त्यस्तै बाटा माछालाई वैज्ञानिक भाषामा लेबियो बाटा, बोगालाई लेबियो बोगा, कत्ले माछालाई लेबियो कत्ला कहलाइन्छ । उसै गरी पङ्गिया माछाको वैज्ञानिक नाम पङ्गियो पङ्गिया हो । अझै अरू उदाहरण छन्, माछाकै । तराईमा पाइने पोथी माछा, जसबाट सिद्रा बनाइन्छ । उसको नेपाली नाम पनि पोथिया (सिद्रे) हो भने वैज्ञानिक नाम पनि पोथिया कन्कोनियस हो । पोथिया जातका प्रायः नेपाली नामहरू वैज्ञानिक नाममै ब्रान्डिङ भएका छन् । पोथिया जस्तै पुन्टी माछा हुन्छ । पुन्टी माछाका कम्तीमा तीन प्रजातिको वैज्ञानिक नाम पुन्टियस राखिएको छ । जस्तै ः पुन्टियस टेरियो, पोन्टियस सोफोर, पोन्टियस सरन आदि । नेपालमा पनि पाइने अर्को एक माछा छ जसलाई भोला वा बोला माछा भनिन्छ, यसको वैज्ञानिक नाम रहेको छ राइमास बोला ।
तीव्र वेगले बग्ने पहाडी खोलामा पाइने पानीको वेगसँगै हेलिने एउटा अर्को माछा छ जसको नाम बतासियो माछा हो । यो प्रायः कोशी र यसका सहायक नदीबाट रिपोर्ट गरिएको छ । यसका कम्तीमा दुई प्रजाति चिनिएका छन्, जसको वैज्ञानिक नाम नै बतासियो राखिएको छ । भारतबाट त यसका १८ प्रजाति भएको थाहा पाइएको छ । विभिन्न पूर्वप्रकाशित जर्नल तथा पुस्तकमा पाइन्छ कि मृगल माछा नेपालीमा भन्छाँै, यसको वैज्ञानिक नाम सिरिनस मृगल हो । कर्सुल माछाको राइनोमुगिल कर्र्सुल हो भने कोट्ना माछाको वैज्ञानिक नाम कोट्ना कोट्ना हो ।
निश्चित जीवको वैज्ञानिक नाम संसारभरि त्यही नै हुन्छ, भाषा र लिपि फरक भए पनि उच्चारण चाहिँ संसारभरि एउटै हुन्छ । यसर्थ विश्वका कुना काप्चाका मानिसले उक्त माछाहरूको नाम बोल्दा नेपाली शब्द बोल्छन् । त्यत्ति मात्र होइन वैज्ञानिक नामले सो जीवको पहिचान मात्र होइन शब्दको अर्थ, नामकरण गर्ने व्यक्तिको नाम, मिति र उत्पादन स्थान पनि बोकेको हुन्छ । यस सन्दर्भबाट पनि नेपाली शब्द, अर्थ र नेपाल भूमि विश्वभर चिनिन्छ । यसैले स्थानीयताको प्रवर्धन हुन्छ, नेपाली भाषाका शब्द विश्वका मानिसका दिमागमा बस्छ र मुखबाट उच्चारित हुन्छ । समग्रमा नेपाल, नेपाली भाषाको पहिचान विश्वमा चम्किरहने छ । विज्ञहरूका अनुसार कुनै जीवको वैज्ञानिक नाम त्यो प्रजाति बसेको स्थान, त्यसको स्थानीय नाम, पत्ता लगाउने व्यक्तिको नाम वा निजले प्रस्ताव गरेको कुनै अर्थपूर्ण शब्द दिएर राखिन्छ । जहाँ पत्ता लागेको वा वासस्थानका आधारमा राखिएका धेरै जीवको नाममा नेपाल देशको र यहाँका सयौँ ठाउँका नाम जोडिइसकेका छन् । धेरै नेपालीका नाम पनि यस मामिलामा प्रचलित भएका छन् ।
नेपालको उच्च पहाडी क्षेत्रमा पाइने वनौषधी जटामसीको वैज्ञानिक नाम भलेरिआना जटामसी हो । त्यस्तै लेकाली भेगमा पाइने मालिङ्गो बाँसको वैज्ञानिक नाम अरूणदिनेरिया मालिङ हो । अत्यन्तै पोषक तरकारी मानिने कुरिलोको नाम हो–एस्पा¥यागस कुरिलस । त्यसै गरी उच्च लेकाली भूमिमा पाइने औषधीय गुण भएको बहुउपयोगी वनस्पति विखमा (विषमा) को वैज्ञानिक नाम एकोनिटम विषमा हो । यसरी स्थानीय नामले विश्वव्यापकता पाउनु हामी नेपालीको गर्वको विषय हो । हाम्रो देश, भाषा भाषीको पहिचान, प्रसिद्धि र व्यापकता हो । अरू पनि वनस्पति छन्–पहाड मधेश सबैतिर पाइने, धार्मिक सांस्कृतिक तथा औषधीय र एक प्रकारको नसाबर्धक बिरुवा धतुरोको वैज्ञानिक नाम धतुरा मेतेल हो ।
वैज्ञानिक नाममा दुई वटा शब्द हुन्छन् । तिनीहरूमध्ये पहिलोलाई जेनस अर्थात् जेनेरिक नाम र दोस्रोलाई स्पेसिज अर्थात् स्पेसिफिक नाम भनिन्छ । वैज्ञानिक नामकरण गर्ने खास विधि हुन्छ । प्राणीको नामकरणका लागि इन्टरनेसनल कोड अफ जोलोजिकल नोमेन्कल्चरको नियमलाई पच्छ्याउनु पर्छ भने वनस्पतिका लागि इन्टरनेसनल कोड अफ बोटानिकल नोमेन्कल्चरलाई । त्यस्तै अरू सजीवको नाम राख्नलाई निश्चित मापदण्डको पालना गर्ने गराउने निकाय पनि छन् । स्थानीय नामलाई वैज्ञानिक नाममा परिणत गर्दा ल्याटिनाइज गर्नुपर्ने नियमले कतिपय नाम अलि बाङ्गिएका जस्ता देखिन्छन् । जस्तै ः औषधीय वनस्पति मजिठोको वैज्ञानिक नाम रुबिया मजिठ हो । माथि लेखिएका सबैजसो नाम ठेट शब्दबाट अलि बङ्ग्याइएको जस्तो लाग्छ । नेपालको झोडादेखि पातलसम्मको सदाबहार रुख चाँपलाई वैज्ञानिकले नाम दिए मिचेलिया चाम्पाका । मधेशमा साह्रै छिटो बढ्ने, बरको रुख झैँ झाँगिने, काठ दाउरा घाँस मात्र होइन पाकेपछि फल खान पनि हुने कदमको नाम पनि नेपाली शब्दबाटै रहेको छ–नियोलमार्कीया कदम्बा ।
हुन त उल्लिखित कतिपय नाम नेपाली जस्तै लाग्ने मात्र पनि हुन सक्छन् । जस्तै, कदम्बा खासमा हिन्दु धर्मका एक ईश्वरीय पात्र कृष्णसँग जोडिएको संस्कृत शब्द हो । उसो त नेपालीको पनि माउ भाषा संस्कृत हो नै । कतिपय शब्द हिन्दी र नेपाली एकै छन्, सोको पनि संयोग परेको हुन सक्छ, अन्य संयोग मात्र भएको पनि हुन सक्छ । यद्यपि धेरैजसोको नेपाली शब्द नै हुन् भनी किटान गर्न सकिन्छ ।
एक वनऔषधी पिपलालाई वैज्ञानिकले नामकरण पिपर लङ्गम भनेर गरिदिए । उच्च पहाडका पाखाभित्तामा फस्टाउने, बहुमूल्य चिराइतोको नाम पनि ठेट नेपाली छ– स्वेरिटा चिराइता । उच्च पहाडको करिब चार हजार मिटर उचाइमा पाइने, जसको जरालाई जडी औषधीको रूपमा प्रयोग गरिने गिन्सिङ भनिने वनस्पतिको नाम पानक्स सिउडोगिन्सेङ राखिएको छ । विभिन्न रङ पोतन कार्यमा अति उपयोगी मानिने बहुरङ्गी, जसलाई स्थानीयले महारङ्गी भन्छन् र टाउको दुखेको र कान दुखेको बेला दबाईको रूपमा प्रयोग गर्छन् । यो वनस्पतिको वैज्ञानिक नाम पनि नेपालीजस्तै लाग्छ–महारङ्ग बाइकलर । अमला अर्थात् इम्लीको वैज्ञानिक नाम छ–फाइलान्थस इम्ली । जङ्गली तथा घरेलु मासको दाललाई वैज्ञानिक भाषामा भिग्ना मुङ्गो भनिन्छ ।
माछा र वनस्पति मात्र होइन चरा तथा स्तनधारीहरूको नाममा पनि नेपाली नामले ठाउँ लिएको छ । जस्तै ः हिमाली कुखुरीलाई टेट्राओग्यालस हिमालयनसिस भनिन्छ । च्याखुरा चरालाई एलेक्टोरिस चुखर, लरवान चरालाई लेर्वा लेर्वा कहलाइन्छ, वैज्ञानिक जगत्मा । कुकु (कुहु कुहु) अथवा कोइली चरालाई कुकुलस कहलाइन्छ । यही कुकुका चार प्रजाति नेपालमा पाइने उल्लेख गरिएको छ । स्तनधारीमा हामी नेपालीमा आसमी बाँदर भन्छाँै । उस्तै नामले पुकारिन्छ यसलाई वैज्ञानिक जगत्मा मकाका आसामेन्सिस । नेपालको चट्टानी पहाडमा, निकै उचाइमा बस्ने, अति नै लजालु बाख्राको जस्तो स्वरूप भएको स्तनधारी घोरल पाइन्छ । यसको वैज्ञानिक नाम निमोरेडस् गोरल हो । हाउसे बाघ वा हुँडारको हायना हायना हो । यद्यपि अङ्ग्रेजीमा पनि हायना नै भनिन्छ ।
यहाँ प्रश्न उब्जिन्छ कि नेपाली नाम कसरी वैज्ञानिक नाममा दर्ज भए र विश्वव्यापी भए ? नेपाली नाम रहनुमा नेपाली अनुसन्धानकर्ताको ठुलो भूमिका छ । किनकि उहाँहरूले नै नाम प्रस्ताव गरेर चलनमा ल्याउनु भएको हुन सक्छ तर यस लेखमा उल्लेख गरिएका प्रायः नाम विदेशी अनुसन्धानकर्ताले नै राखिदिएका हुन् । थप प्रस्ट हुनका लागि बेलायती नागरिक जोसेफ डाल्टन हुकरलाई लिन सकिन्छ । हुकरले आजभन्दा करिब १७७ वर्षअघि सन् १८४८ मा नेपाल आएर पूर्वी नेपालको इलामदेखि कञ्चनजङ्घा, ओलाङचुङ्गोला, तमोर नदीको शिर हुँदै तिब्बतसम्म पुगी सात हजारभन्दा बढी प्रकारका वनस्पतिका नमुना सङ्कलन गरी लैजानुभएको थियो । उहाँले गुराँसका मात्र २५ नयाँ प्रजाति नामकरण गर्नुभएको थियो ।
स्कटल्यान्डका प्रकृतिविद् हेमिल्टनले सन् १८०२ तिर नेपालबाट एक हजार एक सय प्रजातिका वनस्पति पञ्जीकरण गर्नुभएको थियो । उहाँलाई नेपाली वनस्पतिशास्त्रका पिता पनि मानिन्छ । त्यस्तै डेनमार्कका नाथानिल वालिचले सन् १८२१ तिर नेपाली वनस्पतिको गहिरो अध्ययन गरेर थुप्रै प्रजातिको नामकरणसमेत गर्नुभएको छ । पछिल्लो १९ औँ शताब्दीमा जापानका हिरोसी हारा नामका वनस्पतिविद्ले नेपाललाई ठुलो योगदान दिएको मानिन्छ किनकि उहाँले सयौँ वनस्पतिको पहिचान दिएको र विश्वमा नेपाली नामले चिनाउनुभएको छ । यस मेहरोमा नेपाली पुराना नयाँ वनस्पतिविद्को योगदानलाई पनि बिर्सन मिल्दैन । नेपाली स्रोतसाधान र समयले भ्याएसम्म उहाँहरूले काम गर्नुभएको छ ।
प्राणीहरूको अनुसन्धान गर्ने र नेपाली नाम दिने धेरै विदेशी वैज्ञानिक हुनुहुन्छ । यस सूचीमा बेलायती प्राणीविद् हड्सन पहिलो नम्बरमा आउनुहुन्छ । उहाँ सन् १८०० देखि यता ५० औँ वर्षसम्म यहाँका जनावरको पहिचान गर्न काम गर्नुभएको थियो र उहाँको योगदानलाई कदर गर्दै उहाँलाई नेपाली प्राणी विज्ञानका पिताको उपाधि पनि दिइएको छ । आधा दर्जन विदेशी र दर्जनाँै स्वदेशी प्राणीशास्त्र जसले प्राणीको वैज्ञानिक नाम कायम गर्न नेपाली शब्दलाई सिफारिस गरी प्रचलनमा ल्याउन योगदान दिनुभएको छ ।