• १ माघ २०८२, बिहिबार

रोहिणी गाउँपालिका १ काे नयाँ भवन उद्घाटन

blog

रोहिणी वडा १ कार्यालय उद्घाटन गरिँदै । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, माघ १ गते । रुपन्देहीको रोहिणी गाउँपालिका १ वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । बगहामा निर्मित भवनको गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले उद्घाटन गर्नु भएको हो ।

वडा सचिव राजकुमार मिश्रका अनुसार भवन ६३ लाख ९९ हजार ९ सय ७८ रुपैयाँको लागतमा निर्माण भएको हो । भवन तोकिएकै समयमा नै निर्माणसम्पन्न भएको मिश्रले जानकारी दिनु भयो । उद्घाटन भएसँगै पुरानो तथा जीर्ण भवनबाट नागरिकलाई सेवा प्रवाह हुँदै आएकोमा अब भने सेवा सुविधा सम्पन्न भवनबाट हुने भएको छ ।

भवन उद्घाटन समारोहमा बोल्नु हुँदै अध्यक्ष यादवले वडा कार्यालय भवन निर्माण हुनु ठुलो उपलब्धी भएको बताउनु भयो । उहाँले विगत र अहिलेको भवनको भिन्नताबारे वडावासीलाई राम्रोसँग जानकारी रहेको बताउनु भयो । भौतिक पूर्वाधारसँगै शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर गाउँपालिका अघि बढेको उहाँको भनाइ छ ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्ष शिवकान्ती हरिजनले विकास निर्माण कार्यलाई अघि बढाउन सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले नयाँ प्रशासनिक भवनबाट नयाँ तरिकाले नागरिकलाई सेवा प्रदान गर्नुपर्ने बताउनु भयो । उहाँले जनताको मन जित्ने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनु भयो । वडा १ का वडाध्यक्ष आविद अली पठानले विकास निर्माणका कार्यले गति पाएको बताउनु भयो । उहाँले शिक्षा क्षेत्रलाई वडा कार्यालयले पनि विशेष प्राथमिकता दिएको बताउनु भयो ।

गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत (हाल सरावल गाउँपालिका, पश्चिम नवलपरासी) का प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले पहिलोपटक आफू वडा कार्यालयमा आउँदा भवन जीर्ण देखेपछि तत्काल नयाँ भवन बनाउनु पर्ने कुरा राखेको बताउनु भयो । रोहिणी गाउँपालिका–२ का वडाध्यक्ष करम हुसेन खाँले सबैको प्रयासले वडा कार्यालय भवन निर्माणसम्पन्न भएको बताउनु भयो ।कार्यक्रममा रोहिणी–१ का वडा सदस्य मोहम्मद अमिन खाँ, बगहा स्वास्थ्य चौकीका इन्चार्ज बुद्धिप्रसाद पन्थ, पूर्व गाविस उपाध्यक्ष सैयद अलीलगायतले बोल्नु भएको थियो ।