• १८ असार २०८१, मङ्गलबार

चिनियाँ नेता चियान्चाओको नेपाल भ्रमणबारे नेताका प्रतिक्रिया

blog

नेपाल कम्युनिष्ट पार्टी (एस)का नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग मंगलबारको भेटमा हात मिलाउँदै नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपिसी) विदेश विभाग प्रमुख लिउ चियान्चाओ । फाइल तस्बिर रासस

काठमाडौं, असार २९ गते। पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान्चाओले नेपाल भ्रमणमा चीनविरुद्ध नेपाली भूमि प्रयोग हुने हो कि भन्ने चिन्ता जाहेर गर्नुभएको बताउनुभएको छ। 

बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले विदेशीले चीनविरुद्ध नेपालको भू–भाग प्रयोग गर्ने हुन् कि भन्ने चिन्ता चीनको रहेको बताउनुभएको हो। उहाँले विदेश विभाग प्रमुख चियान्चाओको भ्रमण सो कुरा जायर गर्नका लागि भएको बताउनुभयो। 

उहाँले नेपालका सबै पार्टीले एक चीन नीति लिने र चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने प्रतिवद्धता व्यक्त गरेको बताउनुभयो। पूर्व प्रधानमन्त्री खनालले भर्खरै विदेश विभाग प्रमुखमा नियुक्त भएका चियान्चाओले पहिलो भ्रमण नेपालमा गर्नुले चीनले नेपालसँगको सम्बन्धलाई पहिलो प्राथमिकतामा राखेको देखाएको उल्लेख गर्नुभयो। 

यो भ्रमणसँगै नेपाल र चीनबीचको आगामी सम्बन्ध अझ राम्रो हुने उहाँले उल्लेख गर्नुभयो। ‘‘चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका प्रमुखमा नयाँ नियुक्तिपछि सबैभन्दा पहिलो विदेश भ्रमण नेपालको गर्नुभयो। त्यसको अर्थ के हो भने चीनले नेपालसँगको सम्बन्धलाई पहिलो प्राथमिकतामा राख्छ। छिमेकसँगको सम्बन्धलाई राम्रो बनाउने उसको दृष्टिकोण छ’’, पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो,  ‘‘अहिलेको भू–राजनीतिक परिस्थिति जुन छ, त्यो भूराजनीतिक परिस्थितिमा विदेशीले चीनविरुद्ध कुनै प्रकारले नेपालको भू–भाग प्रयोग गर्ने हुन् कि भन्ने कुरामा चीनको चिन्ता छ। त्यो चिन्तालाई जाहेर गर्नका लागि पनि उहाँको भ्रमण भएको देखिन्छ। नेपालका सबैजसो पार्टीले हामी एक चीन नीति लिन्छौँ र हामी नेपालको भू–भाग चीनविरुद्ध प्रयोग गर्न दिन्नौँ भन्ने कुरा भनेका छन्। यो कुराले नेपाल र चीन बीचको सम्बन्ध आउने दिनमा राम्रो हुन्छन् भन्ने कुरा देखिन्छ।’’

 केही निर्णयका कारण  शंका गरेको छ :  हरिबोल गजुरेल

नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद हरिबोल गजुरेलले नेपालका पछिल्ला केही निर्णयका कारण चीन सशंकित भएको कारण विदेश विभाग प्रमुखको नेपाल भ्रमण भएको बताउनुभयो। उहाँले नेपालमा शान्ति र स्थिरता रहोस् भन्ने चाहना चीनको रहेको उहाँको भनाइ छ। 

उहाँले चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका वामपन्थीको एकता होस् भन्ने चाहना राख्नु स्वभाविक भएकोसमेत उल्लेख गर्नुभयो। ‘‘मुख्यतः नेपालमा शान्ति र स्थिरता रहोस् भन्ने चीनको जहिले पनि सदिक्षा हुन्छ। कतै नेपाल अस्थिर हुने हो कि, अशान्त हुने हो कि भन्ने चिन्ताले गर्दा अहिलेका केही निर्णयले  सशंकित गराएको सन्दर्भमा यो भ्रमण भएको हो’’, उहाँले भन्नुभयो, ‘‘चिनियाँ कम्युनिष्ट पार्टी भएको कारणले गर्दा स्वभाविक रुपमा वामपन्थी एक ठाउँमा भएको हेर्ने चाहना देखिन्छ।  त्यसलाई हामीले अन्यथा लिनुहुन्न। तर, पनि यहाँ एकता गर्ने, नगर्ने भन्ने कुरो नेपालको राजनीतिक दलकै प्राथमिकताको विषय हो।’’

 एक चीन नीतिमा निरन्तरता खोजेको छ : प्रदीपकुमार ज्ञवाली

नेकपा (एमाले) का नेता तथा सांसद प्रदीपकुमार ज्ञवालीले चीनले नेपालको एक चीन नीतिमा निरन्तरता खोजेको बताउनुभयो। नेपालको भूमि चीनविरुद्ध प्रयोग नहोस् भन्नेमा चीन संवेदनशील देखिएको उहाँले बताउनुभयो। 

नेपालमा राजनीतिक स्थायित्व हुनका लागि सबै राजनीतिक दलका बीचमा समझदारी गरेर अगाडि बढ्दा राम्रो हुने सन्देश चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको भ्रमणले दिएको नेता ज्ञवालीले बताउनुभयो। 

नेता ज्ञवालीले भन्नुभयो, ‘‘नेपालसँग चीनको जुन घनिष्ट मित्रता छ। नेपालका सबै राजनीतिक दलहरुसँग उहाँहरुको जुन खालको सम्बन्ध छ। सम्भवतः त्यो सम्बन्धलाई थप सुदृढ गर्ने उहाँहरुको उद्देश्य हो। नेपालका प्रमुख राजनीतिक दलसँग विचार आदान–प्रदान गर्ने, दल राज्य सञ्चालनका सबैभन्दा महत्त्वपूर्ण निकाय भएका हुनाले दलसँगको सम्बन्धले दुई देशबीचको सम्बन्धलाई पनि मजबुत गर्ने भएको कारणले उहाँहरुले उच्च प्राथमिकता दिएर नेपालको भ्रमण गर्नुभएको देखिन्छ।’’

नेता ज्ञवालीले नेपालको भूमि चीनविरुद्ध प्रयोग नहोस् भन्ने कुरामा चीन संवेदनशील रहेको जानकारी दिनुभयो। ‘‘पछिल्लो समय कतिपय घटनाक्रमले चिनियाँ मित्रको मनमा केही अशंका पैदा भएको देखिन्छ। त्यसो भएर नेपालको चीन सम्बन्धी नीतिमा उहाँहरुले निरन्तरता खोजेको, त्यो एकखालको सुनिश्चितता खोजेको बुझ्न सकिन्छ। दोस्रो, नेपालमा राजनीतिक स्थायित्व होस्। नेपाल समृद्ध होस्। बलियो होस् भन्ने उहाँहरुले भन्ने गर्नुभएको छ। त्यसका लागि दलका बीचमा समझदारी भएर अगाडि बढ्दा राम्रो हुन्छ भन्ने सन्देश छ। तेस्रो, जुन ढंगले भूराजनीतिक परिस्थिति विस्तारै बदलिँदै गएको छ। एशियामा शक्ति राष्ट्रका जुनखालका प्रभाव, कतिपय मामिलामा हस्तक्षेप बढ्दैछन्। त्यसका बाछिट्टा नेपालमा नपरोस् र त्यसमार्फत् चीनको संवेदनहीलतामाथि असर नपरोस्। यी र यिनै कुरामा उहाँहरुको सरोकार देखिन्छ’’, नेता ज्ञवालीले भन्नुभयो।

त्यस्तै उहाँले एसियामा शक्ति राष्ट्रको हस्तक्षेप बढिरहेको र त्यसको बाछिटा नेपालमार्फत् चीनको संवेदनशीलतामा नपरोस् भन्नेमा विदेश विभाग प्रमुखमार्फत चीनको सरोकार रहेको उहाँले उल्लेख गर्नुभयो।