• १ माघ २०८२, बिहिबार

संस्कृती जोगाउँदै सचेतना फैलाउँदै

blog

बाँसगढी नगरपालिका बरघर सञ्जालले प्रस्तुत गरेको हुर्दुङ्गवा नाँच । तस्बिर : यज्ञप्रसाद सापकोटा

यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया), माघ १ गते ।
बर्दियामा माघीको अवसरमा धमा धम सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको छ । गाउँ वडादेखि लिएर पालिका तहमा छुट्टा छुट्टै माघीको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

थारू समुदायको सबैभन्दा ठुलो पर्व भएकाले पनि बर्दिया जिल्लामा माघीलाई विशेष तरिकाले मनाउने गरिन्छ । माघी आउनुभन्दा अगाडिदेखि नै माघीको रौनक हुन्छ । हरेक नगरपालिकाले माघीको अवसरमा मेला महोत्सव लगाउने माघी मिलन कार्यक्रमको आयोजना समेत गरिरहेका छन् ।

बर्दियाको बाँसगढी नगरपालिकाले माघीको अवसरमा फरक किसिमको कार्यक्रमको आयोजना गरेका छन् । माघीको अवसरमा नगरपालिकाले बालविवाह, बहुविवाह, लागुपदार्थ दुर्व्यसनी लगायतका सामाजिक विकृती हटाउनका लागि सचेतना मुलक सांस्कृतिक पुर्नजागरण अभियान तथा बाँसगढी बरघर माघ मिलन कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा ३० वटा समूहले थारू गीत तथा नाँच प्रतियोगितामा भाग लिएका थिए । बालविवाह, बहुविवाह, लागुपदार्थ दुर्व्यसनी न्यूनीकरणका बारेमा सचेतनामुलक गीतहरू प्रस्तुत भएका थिए । उत्कृष्ट सचेतना मुलक गीत प्रस्तुत गर्ने समूह पुरस्कृत गरिएको छ । प्रतियोगितामा सहभागी हरेक समूहले सामाजिक विकृतिविरुद्ध गीत प्रस्तुत गरेका थिए ।

माघी मिलन कार्यक्रममा बाँसगढी नगरपालिका, विभिन्न गाउँका बरघर, बरघर सञ्जाल, वडाध्यक्ष र जनप्रतिनिधिहरूले १४ बुँदे घोषणापत्र मार्फत सामाजिक कुरीति अन्त्य, सांस्कृतिक संरक्षण र दिगो विकासका लागि प्रतिबद्धता जनाएका छन् । समाजमा देखिएको कुरिति अन्त्यका लागि सबै जना एकबद्ध भएर लाग्ने र विकासका लागि सबैले हातेमालो गर्ने सामुहिक प्रतिबद्धतामा उल्लेख छ । प्रतिबद्धता बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको उपस्थितिमा जनाइएको थियो ।

प्रमुख जिल्ला अधिकारी हमालले बरघरहरूले समुदायको सामुदायिक विकासमा विशेष भूमिका खेलेको बताउँदै सामाजिक कुरीती, बालविवाह, बहुविवाह लगायतका कुरालाई न्यूनीकरण गर्नका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।