फडिन्द्र अधिकारी
लेखनाथ, माघ १ गते । उपत्यकाको बिच भागमा नदी, वरिपरि बाक्लै बस्ती भएका गाउँ, सडक र पुलको विकास भइनसकेको त्यो समयमा नदीमाथि नै प्राकृतिक पुल । यस्तो अवस्थितिमा रहेको ढुङ्गेसाँघु एकातिर सेतीनदी प्राकृतिक पुलबाट वारपार गर्ने ठाउँ थियो भने अर्कातिर घरायसी सामान किनमेल गर्ने मेलास्थल । समय फेरिए पनि पोखरा–१७, ढुङ्गेसाँघुमा हुने माघेसङ्क्रान्ति मेला निरन्तर छ ।
बिहीबार बिहानैदेखि यहाँको सेतीनदीमा स्थान गर्नेको घुइँचो छ । नदी छेउमा रहेको सदशिवजी हरिहर मन्दिर परिसर र आसपासमा घरायसी सामान किन्ने र बेच्ने बाक्लै छन् । सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर समिति अध्यक्ष एवम् महोत्सव मुल समारोह समिति संयोजक नगेन्द्र शर्मा भण्डारी मेलास्थलको ऐतिहासिक, धार्मिक महत्त्वसँगै व्यवहारिक रुपले पनि मेलाको विशेष महत्त्व भएको बताउनुहुन्छ ।
“एकातिर भगवान् राम र त्रेतायुगको प्रसङ्ग यसको ऐतिहासिकतामा जोडिन्छ,” भण्डारी भन्नुहुन्छ, “अर्कातिर सेतीघाटमा नुहाएर घरायसी सामान किनमेल गर्ने, मन्दिरमा दर्शन गर्ने र विभिन्न प्रतियोगितासमेत हुने हुँदा यो मेलामा बर्सेनि जनसहभागिता बढ्दो छ ।” पहिले दुई, तीन दिनसम्म मेला लाग्ने गरेकोमा सहरबजारको विकासपछि एक दिनमा मेला सीमित भएको जानकारहरु बताउँछन् ।
मेलाको लोकप्रियतालाई मध्यनजर गरी कवि एवम् गीत विनोद गौचनले लेख्नुभएको गीत ‘ढुङ्गे साँघुको मेलामा, भेट भएको बेलामा’ चर्चित छ । हरेक वर्ष माघ १ गते यहाँ हुने मेलामा पोखरा महानगर, कास्कीका विभिन्न भाग र छिमेकी जिल्लाबाट समेत तीर्थालु आउने गर्छन् । गहिरो खोंचमा ढुङ्गाबाटै प्राकृतिक रुपमा बनेको पुलले पोखरा महानगरका वडा नम्बर १५ र १७ लाई जोड्छ । पछिल्लो समय यो पर्यटकीय स्थलका रुपमा विकास हुँदै गएको छ ।
सेतीनदीमा मकर स्थान गरी फर्केकाहरु मेलाबाट घरायसी सामान किनेर घर फर्किन्छन् । शदाशिव मन्दिरका पुजारी कृष्णप्रसाद अधिकारी यो मेला विसं. १८६४ तिर सुरु भएको बताउनुहुन्छ । त्रेतायुगमा सीताराम यहाँको त्यही प्राकृतिक पुलबाट सेती पार गरी वनबास गएको जनश्रुति छ ।
यहाँ रहेको हरिहर मन्दिरलाई पछिल्लो समय व्यवस्थित बनाइएको छ । मन्दिर परिसरमा एक सय आठ शिवलिङ्ग, अकला माताको मन्दिर, एक सय आठ गौमुखी जलधारा आदि बनाइएको छ । बाटो ढलान, गेट निर्माणसहित यो क्षेत्रलाई योजनावद्ध रुपमा विकास गर्न लागिपरेको मन्दिर समिति अध्यक्ष शर्मा बताउनुहुन्छ । मेलामा कन्दमुलका स्टलसँगै खेलकुद प्रतियोगिताहरु पनि जारी छन् ।