अमरराज नहर्की
तनहुँ, माघ १ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारास्थित कसेरीघाटमा भएको तीन जनाको सामूहिक हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिबार फोहोरमैला प्रशोधन केन्द्रमा तीन जना व्यक्तिको शव फेला परेपछि प्रहरीले गहन अनुसन्धान सुरु गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार मङ्गलबार पक्राउ परेका ती व्यक्तिले हत्यामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् । प्रहरीले अहिले घटनाको थप अनुसन्धान भइरहेको जनाउँदै पक्राउ परेका व्यक्तिको नाम र ठेगाना भने गोप्य राखेको छ । पक्राउ परेका व्यक्ति उक्त फोहोरमैला प्रशोधन केन्द्रमा बारम्बार गइरहने व्यक्ति रहेको खुलेको छ ।
प्रहरीले मृत फेला परेकामध्ये दुई जनाको सनाखत भइसकेको जनाएको छ । सनाखत हुनेहरूमा शुक्लागण्डकी नगरपालिका–११ का ४१ वर्षीय नारायण विक र भिमाद नगरपालिका–८, भागरकी ५८ वर्षीया देउमाया थापा रहेका छन् । मृतक अर्का एक पुरुषको भने अझै पहिचान खुल्न सकेको छैन । प्रहरीले घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको र चाँडै पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गर्ने बताएको छ ।